कार्यक्रम उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुँमागाई

३० साउन, काभ्रे । भुम्लु गाउँपालिकाले स्थानीय कृषकहरूलाई अर्गानिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले जैविक मल बनाउने तालिम दिएको छ । खेतीको समयमा कृषकले मल खरिद गर्नसमेत नपाएपछि समस्या व्यहोर्नुपरेको थियो । त्यसलाई मध्यनजर गर्दै गाउँपालिकाले जैविक मलको प्रयोग गरी कृषि उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिम दिइएको एक सहभागीले बताए ।

तालिममा सहभागीहरू ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुँमागाईले सो कार्यक्रम उद्घाटन गर्दै कृषि क्षेत्रको विकासको लागि सम्भावनाको खोजी गर्दै ५५ बुँदे मार्गचित्र बनाएर अगाडि बढिरहेको बताए । त्यसअन्तर्गत प्रांगारिक मल, जैविक मल र गड्यौला मल उत्पादन र व्यवस्थापनका लागि बजेटसमेत छुट्याइएको हुँमागाई बताउँछन् ।

अहिले गाउँघरमा स्थानीयस्तरमा नै उत्पादन भएका शुद्ध कृषिउपजहरू पाउन गाह्रो भइरहेको अवस्थामा स्वस्थ जीवन जिउँनका लागि पनि आवश्यक प्राङ्गारिक कृषि उत्पादनमा स्थानीय सरकारले जोड दिएको बताउदै गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल भन्छन् –  त्यसका लागि बजेटको व्यवस्था गरी किसानलाई जैविक कृषि उत्पादनतर्फ अग्रसर गराउन जैविक मल बनाउने प्रशिक्षण कार्यक्रम शुरू गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल ।

तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्नुहोस् – यो तालिममा सहभागीहरूलाई भुम्लु गाउँपाकिलाका उपाध्यक्ष जितेन्द्रमान तामाङको अनुरोध थियो । तामाङ थप्छन् – तपाईहरूले यहाँ सिकेका कुराहरू गाउँगाउँमा गएर अरू किसानहरूलाई पनि सिकाउन सके अझै राम्रो हुनेछ  ।

हिजो सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूलाई मलको उत्पादन, प्रयोग र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षक शंकर पाण्डेले प्रशिक्षण दिएका थिए  । तालिममा गाउँपालिका भित्रका प्रत्येक वडाबाट १०/१० जना किसानहरू सहभागी भएका थिए ।  अब कृषिलाई व्यवसायिक उत्पादनमा जोड दिने विषयमा पालिकाले योजना बनाएर अघि बढिसकेको गाउँपालिकाले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुँमागाई लगायत ।

तालिममा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समिति सदस्य कलमराज गिरी, गाउँपालिका निबर्तमान उपाध्यक्ष कल्पना श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रुपक अधिकारी, दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश कक्षपति लगायतले जैविक मल उत्पादन र त्यसको उपयोगिताको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

Comments

comments