कान्छाे आरोही शम्भु तामाङ

-नाम्सादिम 

सानो उमेरमा विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल भएका शम्भु तामाङकाे विषयमा सामान्य ज्ञान लगायत विभिन्न पुस्तकहरूमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा कम उमेरमा चढने व्यक्ति शम्भु तामाङ हुन् भनी उल्लेख गरिएको छ । सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको शिखरमा पुगेका इटालियन आरोहण दलका ४ जना (Rinaldo Carrel, Mirko Minuzzo, Lhakpa Tenzing Sherpa, Sambhu Tamang) सदस्यहरू मध्ये एक जना शम्भु तामाङ हुन् । सगरमाथाको चुचुरोमा पाइला टेक्ने बेला तामाङकाे उमेर १७ वर्ष ६ महिना १५ दिनको पुगेकाे थियो ।

तामाङकै शब्दमा आफू विश्वकै कान्छो आरोही बनुँला अनि राज्यले केही देला वा आफू विश्व विख्यात बनुँला भनेर सगरमाथा चढ्न गएकाे हाेइन । सन् १९५५ अक्टोबर २० तारिखका दिन सिन्धुपाल्चोक जिल्ला लिसंखु गा.वि.स.वडा नं. ४  हाल लिसंखुपाखर वडा नं २ मा जन्मिएका तामाङको मावली काठमाडौं भएकोले मामाघरमै बसेर अध्ययन गर्न काठमाडौं आएका थिए । शान्ति विद्यागृह, लैनचौर, काठमाडौंमा कक्षा ८ मा पढ्दै गर्दा उनले इटालियन भाषा अध्ययन गर्न छात्रवृत्ति पाएर १४ वर्षकै उमेरमा इटाली पुगेका थिए ।

तामाङलाई इटालियन भाषा अध्ययनको लागि छात्रवृत्ति मिलाउने मुख्य व्यक्ति केही वर्षभित्र सगरमाथा चढ्न आउने योजना उनीहरूसँगको बसाइँमा तामाङले थाहा पाए । उनीहरूले इटाली र युरोपका अन्य क्षेत्रमा हिमाल आरोहणको तालिम लिएको देखेपछि उनलाई पनि पर्वतारोहणको तालिम लिन मन लाग्यो र उनीहरूसँगै लागेर तालिम पिन लिए । त्यसपछि तिनै इटालीयनहरुसँग सन् १९७१ (१६ वर्ष उमेरमा) मा मकालु हिमाल आरोहणमा उनी ८,१६३ मिटरसम्म पुग्न सफल भएता पनि चुचुरोमा पुग्न भने सफल भएनन् ।

कान्छाे आरोही शम्भु तामाङ

त्यसको अर्को वर्ष, सन् १९७२ को अर्जेन्टिनीहरुसँग सगरमाथा आरोहणमा सहभागी भई उनी ७,९२५ मिटरसम्म पुग्न सफल भएका थिए । तर यस पटक कोही पनि शिखर चुम्न सफल भएनन् । सन् १९७३ मा जब उनी संसारकै कान्छो आरोहीको रूपमा सगरमाथाको चुचुरोमा पुगे, त्यस ऐतिहासिक दिनमा अन्य उल्लेख्य रेकर्डहरू पनि बनेको थियो । सो आरोहण इटालीको पहिलो सफल सगरमाथा आरोहण थियो भने शम्भु तामाङ पहिलो गैरशेर्पा नेपाली आरोही थिए । शम्भु तामाङ लगायतको आरोहणको खबर सबैभन्दा पहिले भारतको अल इन्डिया रेडियोबाट प्रसारण भएको थियो ।

उक्त खबरमा आरोहण गरिएको मिति, आरोहीहरूको नाम र उमेर उल्लेख गरिएको थियो । त्यसै गरी इटालीको विभिन्न सञ्चारमाध्यमहरूले पनि समाचारहरू प्रकाशन र प्रसारण गरेका थिए । तर उनी नै विश्वको कान्छो आरोही हुन् भन्ने चाहिँ स्वयं शम्भु तामाङले पनि करिब दुई वर्षपछि मात्र थाहा पाएका थिए । उनीसँगै सगरमाथा आरोहण गरेका इटालियनहरूले पनि उनको उमेरको कारण विश्व रेकर्ड कायम भएको कुरा निक्कै पछि मात्र महसुस गरेका थिए । त्यसपछि उनको नाम विश्व रेकर्डधारी आरोहीको रूपमा विभिन्न श्रोत र सामान्य ज्ञानका पुस्तकहरूमा छापिएका थिए ।

शम्भु तामाङद्वारा स्थापित विश्व रेकर्ड सन् २००१ मा अर्का नेपाली आरोही तेम्बाछिरीले १६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि मात्र तोडिएको थियो । रेकर्डहरू तोडिनु सामान्य नियम हुन्, यद्यपि शम्भु तामाङ सगरमाथाको शिखरमा सबैभन्दा सानो उमेरमा पुगेर विश्व रेकर्ड राख्ने पहिलो व्यक्ति हुन् भन्ने तथ्य भने कहिल्यै नतोडिने रेकर्ड हो र यो तथ्य नेपालको राज्य वा सम्बन्धित क्षेत्रका धेरैले महसुस नगरेको यथार्थ पनि हो ।

नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा विश्व रेकर्डधारीको अलावा एक वरिष्ठ पर्यटन व्यवसायी, दक्ष आरोही, आरोहण प्रशिक्षक तथा प्रेरणादायी व्यक्तित्वका रूपमा शम्भु तामाङ परिचित नाम हो । पर्वतारोहणसँग सम्बन्धित (Alpine Activities) नेपालको आधिकारिक संस्था वा अल्पाइन क्लबका जन्मदाता मध्ये शम्भु तामाङ पनि एक हुन् भन्ने कुरा अर्को धेरैलाई थाहा नभएको तथ्य हो ।

सगरमाथाको सफल आरोहण पश्चात् उनले नै अर्का व्यक्ति नृत्यमान सिंहको साथमा परराष्ट्र मन्त्रालयका अमेरिका–युरोप डेस्कका प्रमुख यादवकान्त शिलवाल (पछि सार्क महासचिव भएका) लाई भेटेर नेपालमा अल्पाइन एसोसिएसन वा हिमाल आरोहण गतिविधि सम्बन्धी एक संस्था हुनुपर्ने कुरा उठाए । उनको यस प्रस्तावमा यादवकान्त शिलवाल सकारात्मक भए र तत्कालीन परिस्थितिमा सर्वसाधारणले सङ्घसंस्था खोल्न सहज नभएको हुँदा राजपरिवारका सदस्य कुमारखड्ग विक्रम शाहलाई भेट्न सुझाव दिए । त्यसपछि उनले यस बारेमा ब्रिफिङ गरेपछि कुमारखड्ग विक्रम शाहकै नेतृत्वमा सन् १९७३ मा नेपाल पर्वतारोहण सङ्घको स्थापना भएको थियो ।

उनकै पहलमा स्थापना भएको पर्वतारोहण सङ्घ अहिले पनि नेपालको पर्वतीय क्षेत्रको सबै भन्दा ठुलो संस्थाको रूपमा रहेको छ । उनले कार्यसमितिका सदस्य तथा सह–सचिवसम्मको भूमिकामा रहेर कार्य गरेता पनि उनलाई कसैले पनि उक्त संस्थाको प्रमुख बन्न प्रस्ताव गरेनन् वा पुग्नै दिएनन् । त्यति मात्र नभई उनी नेपाल पर्वतारोहण सङ्घ अन्तरगतकै पर्वतारोहण सम्बन्धी तालिम दिने सुरुका प्रशिक्षकहरू मध्ये पनि एक हुन् ।

यसरी सानै उमेरमा स्कुल छोडेर भाषा सिक्न इटाली पुगेका शम्भु तामाङले पुनः औपचारिक शिक्षा लिएनन् । उनले पर्वतारोहणलाई नै आफ्नो स्थायी पेसा बनाउँदै पर्यटन क्षेत्रलाई अँगालेर बसे । पर्वतारोहणकै क्रममा उनले सन् १९८५मा पुनः सगरमाथाको तिब्बत तर्फबाट आरोहण गरे । त्यस बखत उनले अगस्ट २८ मा आरोहण गरेका थिए, जुन सामान्य आरोहण याम भन्दा अलग समय थियो ।

सगरमाथा आरोहणद्वारा देशको पहिचान झल्काउने तथा मित्रता बढाउने अभियानको रूपमा सन् १९८८मा “चीन–जापान–नेपाल चोमोलङमा सगरमाथा मैत्री अभियान” भएको थियो । उक्त त्रि–देशीय अभियानमा दक्षिणतर्फको उप–नेता शम्भु तामाङ नै रहेका थिए । यस पटक भने उनी शिखरसम्म पुग्न सकेनन् । त्यसपछि भने उनले उच्च शिखर आरोहणलाई छाडेर पर्यटन व्यवसायमा निरन्तर रूपमा लागिरहेका छन्।

उनलाई सन् २००३ जुन २० का दिन तामाङ पर्यटन व्यवसायीहरूको अग्रसरतामा नेपाल तामाङ घेदुङले सार्वजनिक अभिनन्दन गरेको थियो । तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति सम्माननीय परशुनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त अभिनन्दन कार्यक्रममा शम्भु तामाङसहित १४ जना सगरमाथा आरोही र आठ हजार मिटर भन्दा अग्ला हिमालहरूको आरोहण गरेका ७ जना पर्वतारोहीहरूलाई पनि सम्मान गरेका थिए । हाल नेपाल पर्वतारोहण सङ्घको सल्लाहकार सदस्य रहेका उनलाई सङ्घले पटक–पटक सम्मान गरेको छ ।

सगरमाथा आरोहणको स्वर्ण महोत्सवको अवसर पारेर राज्यको तर्फबाट उनको सम्मानमा सन् २००३ मे ५ मा उनको नाममा हुलाक विभागले स्मारक खाम (Commemorative Cover) जारी गरेको थियो । यसै गरी उनलाई नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल, नेपाल तामाङ राष्ट्रिय महासङ्घ, नेपाल तामाङ विद्यार्थी समूह, दुर्गबहादुर तामाङ स्मृति प्रतिष्ठान, रामेछाप तामाङ समाज, शान्ति विकास अभियान, आदिवासी जनजाति महासङ्घ लगायतका विभिन्न सङ्घसंस्थाहरूले सम्मान गरेका छन्।

नाेट: “साहसिक पर्यटनमा तामाङ जातिको योगदान” नामक पुस्तकबाट 

Comments

comments