-इकमान लामा
काभ्रेः जिल्लाको तेमाल गाउँपालिका–१ स्थित सर्स्युखर्कका बालबालिकालाई तामाङ पोसाक वितरण गरेका छन् । सदगुण जागरण नेपालले नयाँ वर्षको अवसरमा आयोजित ‘डहुन्हान साँस्कृतिक यात्रा’ कार्यक्रमबिच सदगुण बाल समुहका बालबालिकाहरुलाई तामाङ पोसाक वितरण गरेको हो ।जागरण नेपालका केन्द्रिय अध्यक्ष धनदास तामाङले बाल समुहका ५० जना बालबालिकालाई पोसाक वितरण गरेको जानकारी दिए । उनका अनुसार बालबालिकालाई एक लाख मुल्य बराबरको तामाङ पोसाक वितरण गरिएको जनाएको छ । कार्यक्रममा बालबालिकालाई बुद्धको फोटो समेत वितरण गरिएको छ । अध्यक्ष तामाङले गत वर्ष तिहारमा देउसी–भैलोबाट संकलन रकम ४८ हजार रुपैँया र बाँकी सहयोग रकमबाट पोसाक खरिद गरी बालबालिकालाई पोसाक वितरण गरेको बताए । त्यस्तै बालबालिकालाई वडाभित्रका धार्मिक क्षेत्रको अवलोकनसँगै कस्तो काम गर्दा वा बोल्दा पाप लाग्छ, के गर्दा र कस्तो बोल्दा सबैको मायाँ पाउँछ जस्ता विषयमा प्रशिक्षण समेत दिएको सदगुण समुहका केन्द्रीय महासचिव वीरमान बलले जानकारी दिए ।

सरस्वती तामाङ आफ्नो जातीको भेषभुषासँग जोडिएको पोसाक पाउँदा निकै खुसी देखिन्थे । उनी जस्तै खुसी देखिएका रश्मि तामाङ र अस्मिता तामाङले जातीय पोसाकमा सजिन पाउँदा धेरै खुसीको अनुभुती गरेको सुनाइन् । यसले आफुहरुले पनि समाजमा केही गरेर देखाउनु पर्छ भन्ने सोच आएको बताइन् । कार्यक्रममा तामाङ पोसक लगाएर उनीहरुमध्ये केहीले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

आफ्नो समुदायको भाषा, धर्म, संस्कृतिप्रति सानैदेखि सिक्न सकुन् र बालबालिकामा आपसी मेलमिलाप तथा अध्ययन लगयातमा सकारात्मक सोचको विकास होस् भन्ने उद्देश्यले पोसाक वितरण गरिएको आयोजकले जनाइएको छ ।

काभ्रेको तेमाललाई धार्मिक तथा साँस्कृतिक क्षेत्रको रुपमा चिनिन्छ । त्यस्तै तेमालको राजा ह्रेन्जेन दोर्जेका पालामा सर्स्युखर्कमा जग्गाको कर बुझाउने ठाउँ अर्थात् मलपोत रहेको किंवदन्ती स्थानीय सुनाउँछन् ।

Comments

comments