रगतको होली खेलेर सत्तारोहण गरेका भीमसेन र जंगबहादुर दुवैले ३०-३० वर्षभन्दा बढी एकलौटी शासन चलाए । तर, हत्या गरिएका मानिसको हिसाब हेर्दा जंगबहादुरभन्दा क्रूर भीमसेन देखिन्छन्

राजकुमार दिक्पाल

भीमसेन थापा र जंगबहादुर राणालाई आफ्नो समयका चतुर, धूर्त र निरङ्कुश शासकका रूपमा लिइन्छ । भीमसेनलाई राष्ट्रिय विभूति मानिन्छ भने जंगबहादुरलाई खलपात्रका रूपमा चित्रित गरिंदै आएको छ । तर, क्रूरता र निरङ्कुशताका सन्दर्भमा भीमसेनले जंगबहादुरलाई पनि उछिनेका थिए, तथापि इतिहासविद्हरूले उनलाई ‘नायक’ बनाइदिए ।

भीमसेन-जंगबहादुर सम्बन्ध

भीमसेन र जंगबहादुर पारिवारिक रूपमै सम्बन्धी थिए । भीमसेनका बाबु अमरसिंह थापा (साना) का माहिला छोरा काजी नयनसिंह थापाको काजी रणजित पाँडेकी राजकुमारी नामकी छोरीसँग विवाह भएको थियो । महारानी ललितत्रिपुरसुन्दरी सम्भवतः यिनकै छोरी थिइन् (बाबुराम आचार्य, जनरल भीमसेनः यिनको उत्थान र पतन- २०६९ : ३) ।

जंगबहादुरकी आमा गणेशकुमारी पनि नयनसिंहकै छोरी हुन् । कुण्डली सङ्ग्रह अनुसार उनको जन्म विसं १८५८ मंसीरमा भएको देखिन्छ (दिनेशराज पन्त, पूर्णिमा पूर्णाङ्क ९३- वैशाख २०५५ : १३) ।

ललितत्रिपुरसुन्दरीको जन्ममितिका बारेमा केही अनुमानहरू छन् । आचार्य (उहीः७३) ले पुगनपुग आठ वर्षका गीर्वाणयुद्धविक्रम शाह राजगद्दीमा रहँदा यिनकी संरक्षिका पुगनपुग १४ वर्षकी किशोरी महारानी ललितत्रिपुरसुन्दरी रहेको उल्लेख गरेका छन् । यसबाट गीर्वाणका पिता रणबहादुरको हत्या भएको वर्ष १८६३ सालको हिसाबले हेर्दा ललितत्रिपुरसुन्दरीको जन्म १८४९ सालमा भएको अनुमान हुन्छ ।

बगाले थापा-खलकका विभिन्न व्यक्तिको जीवनी प्रकाशमा ल्याउने अर्का लेखक राजेश्वर थापाले पुस्तक नायव महारानी ललितत्रिपुरसुन्दरीदेवी शाह (थापा) (२०६० : ६) मा उनको जन्म १८४८ देखि १८५३ सालको बीचमा भएको अनुमान गरेका छन् ।

स्वामी महाराज रणबहादुरसँगै नेपाल फर्केका भीमसेन बडो चतुर र धूर्त खेलाडी थिए । उनले सबैभन्दा पहिले विरोधीलाई तह लगाउने क्रममा दामोदर पाँडे, उनका छोराहरू र केही भारदारको ज्यान लिए

आचार्य र थापाको यस्तो विवरणबाट गणेशकुमारीभन्दा ललितत्रिपुरसुन्दरी जेठी रहेको आकलन गर्न सकिन्छ । यस अनुसार भीमसेनकी भतिजी नायब महारानी ललितत्रिपुरसुन्दरी जंगबहादुरकी ठूली आमा हुन् । जंगबहादुरका मावली बाजे हुन्, भीमसेन ।

भतिजीको नायबी, भीमसेनको मुख्तियारी

लामो समय शासनसत्तामा रहेका तत्कालीन मुख्तियार जनरल भीमसेन राजा रणबहादुरका अनन्य सहयोगी थिए । सम्भवतः उनैको सल्लाहमा रणबहादुर शाह चल्ने गर्थे । चौतारा प्राण शाह, हस्तदल शाह, पूर्ण शाह, काजी वीरभद्र शाह, दलभञ्जन पाँडे तथा बालनरसिंह कुँवर पनि उनका अनन्य सहयोगी थिए (आचार्य, उही : १८६) ।

जब भीमसेनको पतनका दिन शुरू भए तब बालनरसिंह कुँवर (जंगबहादुरका बाबु) को पनि विपत्तिका दिन आए । भीमसेनलाई विषमुद्दा लाग्दा ज्वाइँ बालनरसिंहले ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन’ भनी राजाका जेठान प्रभु शाहसँग बिन्ती गरी छुटाउन खोज्दा यो पनि सहयोगी रहेछ भनी उनको सर्वस्वहरण भएको थियो । पछि माथवरसिंहको पालामा उनले सफाइ पाए (ज्ञानमणि नेपाल, नेपालको महाभारत- २०५२ : १८६) ।

भीमसेनमाथि लागेको विषमुद्दा र उनको पतनको प्रत्यक्ष असर जंगबहादुरमा पनि पर्‍यो । उनको जागीर खोसियो ।

१८९४ सालमा जनरल भीमसेनको पतन हुँदा बालनरसिंह पनि थापाहरूका सम्बन्धी भएबाट थापा गुटमा लागेको आरोप लगाइयो । उनको सर्वस्व सहित जागीर खोसिंदा छोरा जंगबहादुरलाई पनि रिसल्लाको सेकेन्ड लेफ्टिनेन्ट पदबाट बर्खास्त गरियो । पछि शिकारमा जाँदा राजा राजेन्द्रविक्रमको चाकरी गर्न उनलाई पछ्याउँदै जंगबहादुर चितवन पुगेका थिए । हात्ती समात्न साहस देखाएका कारण जंगबहादुरबाट प्रभावित भएर राजा राजेन्द्रविक्रमले उनलाई कप्तान बनाएका थिए (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्यवृत्तान्त- २०६५ : ५-७) ।

जंगबहादुरको वृत्तिविकास सुवेदार पदबाट शुरू भएको हो। उनी १८८६ सालमा १३ वर्षको उमेरमा श्रीजंग पल्टनमा सुवेदारको जागीर पाई धनकुटा पुगेका थिए (गंगा खरेल, कन्ट्रिब्यूसन टू नेपालीज स्टडिज वर्ष २६ अङ्क १-जनवरी, सन् १९९९ : १६४) ।

जंगबहादुरको वृत्तिविकास शुरू भएका वेला ठूली आमा ललितत्रिपुरसुन्दरी तत्कालीन राजा राजेन्द्रविक्रमकी संरक्षिका थिइन् भने मावली बाजे भीमसेन शक्तिशाली मुख्तियार जनरल थिए ।

सन् १८०४ (१८६० साल) मा रणबहादुर शाह स्वदेश फर्केपछि ललितत्रिपुरसुन्दरीसँग उनको विवाह भएको हो । सन् १८२५ को धरहराको अभिलेख अनुसार उनी रणबहादुर शाहकी पटराज्ञी (राजासँगै अभिषेक नगरिएकी) का रूपमा चित्रित छिन् (गंगा कर्माचार्य (हाडा), कन्ट्रिब्यूसन टू नेपालीज स्टडिज वर्ष २७ अङ्क २-जुलाई, सन् २००० : २६९) ।

भतिजी ललितत्रिपुरसुन्दरीको सहयोगले भीमसेनलाई निष्कण्टक अधिनायकका रूपमा स्थापित हुन सहज भयो । उनकै सहयोगले ‘अबउप्रान्त नेपाल अधिराज्यभरका चौतारा एवम् काजी सबैले मुख्तियार भीमसेनले लगाए/अह्राएअनुसार कामकाजहरू गर्ने गर्नू’ भनी राजा गीर्वाणयुद्धविक्रमबाट लालमोहर लागेको पत्र लिई यिनले मुख्तियार या राजप्रतिनिधिको पदभार ग्रहण गरेका थिए । त्यतिखेर यिनीभन्दा माथि केवल बालक राजा गीर्वाणयुद्धविक्रम र किशोरी राजमाता ललितत्रिपुरसुन्दरी मात्र थिए (आचार्य, उही : ७३) ।

रणबहादुरको हत्या लगत्तै काटिएका चौतारिया, भारदार अनि उनीहरूका छोरा-नातिको दाहसंस्कारसम्म गर्न दिइएन । उनीहरूको पार्थिव शरीर दाम्लाले घिसार्न लगाई विष्णुमतीको बगरमा फ्याँक्न लगाएर स्याल, कुकुर र गिद्धलाई खुवाइयो ।

जब ललितत्रिपुरसुन्दरीको निधन भयो, भीमसेनको पतन शुरू भयो । उनको १६ चैत १८८८ मा निधन भयो । भीमसेनको शक्तिकी स्रोत ललितत्रिपुरसुन्दरीको देहान्तपछि उनका विरोधीले शिर उठाउने मौका पाए, जसको सामना गर्न उनलाई धेरै समय र शक्ति लगाउनुपरेको थियो (हाडा, उही : २७०-२७१) ।

ललितत्रिपुरसुन्दरीले १८६३ देखि १८८८ सालसम्म २५ वर्षसम्म दुई राजाको संरक्षिकाका रूपमा भूमिका निर्वाह गरिन् । यो अवधि मुलुकका खास शासक भीमसेनका लागि अत्यन्तै अनुकूल हुन पुगेको थियो । शासनसत्तामा उनको एकलौटी थियो ।

ललितत्रिपुरसुन्दरीका कीर्ति

ललितत्रिपुरसुन्दरीले आफ्नो नायबीकालमा केही कीर्ति पनि राखिन् । तीमध्ये बागमती किनारमा रहेको त्रिपुरेश्वर शिवमन्दिर एक हो । स्वामी महाराज रणबहादुरको उनकै सौतेनी भाइ शेरबहादुर शाहीले हत्या गरेपछि उनले पतिको मोक्षका लागि नाति राजेन्द्रविक्रमको समयमा मन्दिर बनाएकी हुन् । असार १८७४ मा शिलान्यास गरिएको मन्दिरमा वैशाख १८७५ मा शिवलिङ्ग प्रतिस्थापन गरियो । मन्दिर बनाउन आवश्यक सरसामान जुटाउने जिम्मा भीमसेन र रंगनाथ पाण्डेको थियो। मन्दिर परिसरमा ललितत्रिपुरसुन्दरीको शालिक पनि राखिएको छ । उनकै नामबाट उक्त मन्दिरलाई त्रिपुरेश्वर महादेव भनिएको हो । अनि कालान्तरमा त्यस ठाउँको नाम नै त्रिपुरेश्वर रहन पुग्यो (शोभा श्रेष्ठ, प्राचीन नेपाल सङ्ख्या १५१-कात्तिक २०५९ : २७-२८) ।

ललितत्रिपुरसुन्दरीको अर्को कीर्ति सुन्धारामा रहेको धरहरा पनि हो । १८८१ सालमा भीमसेनले १२४ हात अग्लो र १८८२ सालमा ललितत्रिपुरसुन्दरीले ९० हात अग्लो धरहरा बनाउन लगाएका थिए । भीमसेनले बनाउन लगाएको धरहरा १८९० सालको भूकम्प र ललितत्रिपुरसुन्दरीले बनाउन लगाएको धरहरा १९९० सालको महाभूकम्पले क्षतिग्रस्त भए । पछि जुद्धशमशेरले जीर्णोद्धार गराएपछि धरहरा पुनः ठडिएको थियो (राजाराम सुवेदी, प्राचीन नेपाल सङ्ख्या ८०-फागुन-चैत, २०४० : १५) ।

२०७२ सालको महाभूकम्पले उक्त धरहरा फेरि भत्कियो । अहिले पुरानो धरहराको भग्नावशेषछेउमै नयाँ धरहरा ठडिइसकेको छ । २०७२ सालमा ढलेको धरहरालाई ‘भीमसेन स्तम्भ’ भन्ने गरिए पनि त्यसलाई ललितत्रिपुरसुन्दरीले बनाउन लगाएकी हुन् ।

भीमसेनले मच्चाएको हत्याकाण्ड

स्वामी महाराज रणबहादुरसँगै नेपाल फर्केका भीमसेन बडो चतुर र धूर्त खेलाडी थिए । उनले सबैभन्दा पहिले विरोधीलाई तह लगाउने क्रममा दामोदर पाँडे, उनका छोराहरू र केही भारदारको ज्यान लिए ।

केही वर्षको निर्वासनपछि रणबहादुर शाह २० फागुन १८६० मा स्वदेश फर्कने क्रममा थानकोट उत्रे। उनलाई स्वागत गर्न केही सैनिक लिएर थानकोट पुगेका दामोदर र प्रबल रानालाई तत्कालै पक्राउ गरी लुमडी (भद्रकाली) मा ल्याएर थुनियो । यसरी थुनामा परेका वेला प्रबलले भाग्ने सल्लाह गर्दा दामोदरले मानेनन् । प्रबल भने झाडापखालाको निहुँले भागे । यसै अभियोगमा उनीहरूको पहरा बसेका एक जमादार र सिपाहीलाई भोलिपल्टै मृत्युदण्ड दिइयो । त्यसको केही दिनपछि विसं १८६० चैत सुदी २ मा दामोदर, उनका छोरा गजकेशर र रणकेशरका साथै काजी भीम खवास, सरदार इन्द्रमान खत्री, द्वारे सर्वसिंह, सुवेदार शङ्खधर, सुवेदार मानन्धर गरी आठ जनालाई मारियो । यस क्रममा कतिसम्म निर्दयता देखाइयो भने रानी राजराजेश्वरीका केटीको कृपाले सुवेदार मान पाएको भनेर शङ्खधरलाई खाडलमा पुरेर टाउकामा खोटो बाली मारिएको थियो (नेपाल, उही : ५७) ।

भीमसेन सेरिएर बडो बिजोगले मरेको तीन वर्षपछि उनलाई सफाइ दिने क्रममा माथवरसिंहले दोषी ठहर्‍याउँदै दुई वर्षदेखि ६२ वर्षसम्मका ३९ जना पाँडेहरूलाई कटाए ।

१९औं शताब्दीको शुरूमा पाँडे (काला पाँडे) धेरै शक्तिशाली थिए । उनीहरूलाई कटाएर, निर्वासित गराएर, सम्पत्ति जफत गरेर भीमसेन सर्वेसर्वा बन्न पुगे (गंगा कर्माचार्य (हाडा), कन्ट्रिब्यूसन टू नेपालीज स्टडिज वर्ष ३२ अङ्क २- जुलाई, २००५ : ३१७) ।

यस अर्थमा दामोदरको हत्यामा प्रत्यक्ष निर्देशन रणबहादुरको देखिए पनि पृष्ठभूमिमा भीमसेनको भूमिका रहेकोमा कुनै शङ्का छैन ।

आफ्ना सम्भावित बाधक दामोदरलाई पन्छाएपछि भीमसेनले १८६३ सालमा अर्को ठूलो रक्तपात मच्चाए । सौतेनी भाइ शेरबहादुरबाट स्वामी महाराज काटिएपछि त्यसको बदलामा थुप्रै भारदार मात्र होइन, उनीहरूका निर्दोष र निरपराध नाबालक छोरा-नातिले पनि ज्यान गुमाउनुपर्‍यो । जातिच्युत गर्न भनी तिनका पत्नीहरू पोडे तथा च्यामेहरूलाई सुम्पिइए ।

राजगद्दी त्यागेर नाबालक छोरा गीर्वाणयुद्धविक्रमलाई राजा बनाई सन्न्यासी भइसकेका रणबहादुरले बनारसबाट फर्केपछि नयाँ मुख्तियार भई भारदारमाथि अनेकौं दोष थोपर्न थाले । तीमध्ये अङ्ग्रेजलाई नेपाल ल्याउन कोठी खोल्नका लागि १८ हजार रुपैयाँ दिएको दोष लगाई काजी त्रिभुवनलाई तत्कालै विष्णुमतीमा लगेर काट्ने आदेश दिए । रणमुक्तेश्वरमा रहेको उनको घर समेत सर्वस्वहरण गरी त्यहाँ रणबहादुर आफैं बस्न थालेका थिए । तर, मारिनुअघि काजी त्रिभुवनले भारदारी सभा राखेर सबै पोल खोलिदिने बताएपछि १४ वैशाख १८६३ को राति उनकै घरमा कचहरी बस्यो । कचहरीमै रणबहादुरसँग क्रुद्ध भई शेरबहादुरले तरबार हानेर उनको प्राण लिएपछि बालनरसिंह कुँवरले तत्कालै शेरबहादुरलाई पनि काटे । त्यतिखेर भात खान गएका भीमसेन हात पुछ्दै आइपुग्दा स्वामी महाराजको हत्याको बदलामा ‘लौ हेर त अब टेकु दोभानदेखि आर्यघाटसम्म सोला चढाउन सकिनँ भने म भीमसेन थापै होइन’ भनी कर्नाल फुकाई सबै सैनिकलाई सामेल हुन सूचना दिए (नेपाल, उही : ६१-६३) ।

त्यसपछि भीमसेनको खाँडो जाग्यो । त्यही रात चौतारिया विदुर शाही, काजी त्रिभुवन प्रधान, काजी नरसिंह गुरुङ र पाटन दरबारमा दुई वर्षदेखि बन्दी बनाइएका पाल्पाली राजा पृथ्वीपाल सेन, उनका भाइ, सिपाही र नोकरहरू दरबारको भण्डारखाल बगैंचामा काटिए । भोलिपल्ट शेरबहादुर, विदुर, त्रिभुवन र नरसिंहका दुईदेखि १५ वर्षसम्मका छोरा-नातिलाई विष्णुमतीमा लगेर काटियो । हेलम्बूमा निर्वासित रानी राजराजेश्वरीलाई झिकाएर नौ जना सुसारे केटी सहित सती पठाइयो । भीमसेनले यो हत्याकाण्डमा १६ स्त्री सहित ९३ जनाको ज्यान लिए (नेपाल, उही : ६३-६४) ।

रणबहादुरको हत्या लगत्तै काटिएका चौतारिया, भारदार अनि उनीहरूका छोरा-नातिको दाहसंस्कारसम्म गर्न दिइएन । उनीहरूको पार्थिव शरीर दाम्लाले घिसार्न लगाई विष्णुमतीको बगरमा फ्याँक्न लगाएर स्याल, कुकुर र गिद्धलाई खुवाइयो (आचार्य, उही : ७०) ।

त्यसपछि आफू विरुद्ध गाइँगुइँ गर्नेहरूलाई समाप्त पार्ने क्रममा गढवाल राज्यमा तैनाथ भई बसेका ऋतुवर्ण थापा, काजी सर्वजित पाँडे, पाल्पा गौंडाका सहवीर थापालाई पनि काट्न लगाए (नेपाल, उही : ६५) ।

यसरी भीमसेनले आफ्नो भावी राजनीतिक यात्रामा आइपर्ने सबै व्यवधान पन्छाउँदै गए ।

यस्तै, १८६४ सालमा पनि उनले माझकिरातको विद्रोह दबाउने क्रममा अटल खत्री, अटल राई, गजसिंह घर्ती लगायत १३ जनाको ज्यान लिनुका साथै उनीहरूका जहानबच्चालाई कमाराकमारीमा परिणत गरिदिए (नेपाल, उही : ९९-१००) ।

जंगबहादुरले आफ्नी प्रेमिका रहेकी दरबारकी सुसारे पुतली मैयाँ र विजयराज पाण्डेबाट सम्पूर्ण षड्यन्त्रको तानाबाना थाहा पाइहाले । त्यसपछि आफ्ना भाइहरूका साथ हतियारले सुसज्जित भएर उनी राजदरबारको भण्डारखाल बगैंचा पुगे । स्वागत गर्ने बहानामा अघि सरेका वीरध्वजको गर्दन जंगबहादुरको इशारामा कप्तान रणमेहरले छिनाइहाले ।

चार वर्षकै अवधिमा उनले आफ्नो शासनसत्तालाई सुदृढ तुल्याउन एक सय २३ जनाको हत्या गरेको देखिन्छ ।

पछि उनका भतिज माथवरसिंह प्रधानमन्त्री भएपछि बदलास्वरूप उनले पाँडे खलकका सदस्यहरूको ज्यान लिए । भीमसेन सेरिएर बडो बिजोगले मरेको तीन वर्षपछि उनलाई सफाइ दिने क्रममा माथवरसिंहले दोषी ठहर्‍याउँदै दुई वर्षदेखि ६२ वर्षसम्मका ३९ जना पाँडेहरूलाई कटाए । भाचाखुसीमा लगेर बोकालाई झैं तरेर काट्न लाग्दा ‘नकाट-नकाट पोडेदाइ, यी सुनका बाला दिउँला’ भन्दै लगाएको बाला फुकाल्न लागेका, आँसुका बलिन्द्र धारा खसाउँदै रुन कराउन लागेका साना-साना पाँडे कुलका केटाकेटी पनि कटाकट काटिएका थिए भन्ने अनुश्रुति छ (नेपाल, उही : १७१-१७२) ।

आखिर माथवरसिंह थापा पनि कालगतिले मर्न पाएनन् । उनलाई उनकै भान्जा जंगबहादुरले तत्कालीन राजा राजेन्द्रविक्रम शाहको निर्देशन, महारानी राज्यलक्ष्मी र जनरल गगनसिंहको षड्यन्त्रमा ६ जेठ १९०२ को राति राजदरबारभित्रै गोली हानी हत्या गरिदिए ।

कति जनालाई मारे जंगबहादुरले ?

भीमसेन सत्ताको उत्कर्षमा पुग्दा जंगबहादुर जान्ने-बुझ्ने भइसकेका थिए । भीमसेनको मृत्यु (१८९६ साल) हुँदा जंगबहादुर २२ वर्षका थिए । भीमसेनको पतनसँगै जंगबहादुरको जागीर खोसिएको प्रसङ्ग माथि परिसकेको छ । भीमसेनको मृत्यु भएको साल उनी धनकुटाबाट रुम्जाटारको बाटो हुँदै घर (काठमाडौं) फर्केर बसिरहेका थिए (खरेल, उही : १६५) ।

मावली बाजे भीमसेनले तीन दशकभन्दा बढी चलाएको शासनमध्ये २० वर्षभन्दा बढी स्वयं जंगबहादुरले भोगेका थिए । मामा माथवरसिंहको शासनको त उनी प्रत्यक्षदर्शी थिए । मावली खलकको प्रभाव चतुर जंगबहादुरमा पर्ने नै भयो । जंगबहादुरले एकचोटि ‘मैले के गरेको छु र? मावलीले बनाएको व्यवस्थालाई चलाएर बसेको छु’ भनेका थिए रे (नेपाल, उही : १८०) ।

भीमसेनले जस्तै जंगबहादुरले पनि भावी यात्राका सम्भावित व्यवधान पन्छाउनकै लागि थुप्रै प्रतिद्वन्द्वीको प्राणहरण गरेका थिए । ढोकाटोलस्थित आफ्नै निवासमा साँझ पूजा गरिरहेको अवस्थामा अज्ञात व्यक्तिको गोली प्रहारबाट तत्कालीन शक्तिशाली जनरल कान्छी महारानी राज्यलक्ष्मीका प्रियपात्र गगनसिंहको हत्या भएपछि हत्यारा पत्ता लगाउने कचहरीमा दाउ छोपेर बसेका जंगबहादुर र उनका भाइहरूले कोतमा ठूलो नरसंहार मच्चाए । ३१ भदौ १८३१ मा मच्चिएको कोतपर्वपछि जंगबहादुर सत्ताको शिखरमा पुगे ।

शङ्काको भरमा गगनसिंहको हत्यारा ठहर्‍याई रानीले वीरकेशर पाँडेलाई काट्न जनरल अभिमानसिंह रानालाई आदेश दिइन् । तर, अभिमानसिंहले श्री ५ को हुकुम विना यस्तो काम गर्न नसक्ने बताए । राजा राजेन्द्रविक्रम चौतारियासँग सल्लाह गर्नुपर्छ भन्ने निहुँ बनाएर कोतबाट निस्केपछि स्थिति भयावह बन्यो । अभिमानसिंह आफ्नो फौजमा मिसिन के बाहिर जान लागेका थिए, एक जना पालेले रोकिहाल्यो । जंगबहादुरको इशारा पाएको अर्को जवान युद्धवीर अधिकारीले तत्कालै सङ्गीनले अभिमानसिंहको मुटु छेडिहाल्यो । मर्ने वेलामा अभिमानसिंह चिच्याए, ‘गगनसिंह मार्ने जंगे हो ।’ यसरी जंगबहादुरलाई पोल्दै गगनसिंह-हत्याको पहिलो आवाज गुन्जियो (नेपाल, उही : २३४-२३५) ।

मर्ने वेलामा अभिमानसिंहको यस्तो घोषणापछि चौतरिया फत्तेजंगका छोरा खड्गविक्रम शाहले ‘जनरल अभिमानसिंहको आखिरी वचन सत्य हो, यो सबै जंगबहादुरको जाल रहेछ’ भन्दा जंगबहादुरका काहिंला भाइ कप्तान कृष्णबहादुर कुँवरले त्यसको प्रतिवाद गरे । त्यसपछि भनाभन र हानाहान चल्दा धीरशमशेरले खड्गविक्रमलाई प्रहार गरे । उनको मृत्यु भयो । जंगबहादुरले फत्तेजंगलाई प्रहार गर्न हवल्दार रणमेहर अधिकारीलाई इशारा गरे । तर, उनी निःशस्त्र रहेकाले गोली हान्न सिपाही रामु आलेमगरलाई सङ्केत गरे । उनले तत्कालै गोली प्रहार गर्दा प्रधानमन्त्री चौतरिया फत्तेजंग शाह ढले (जबरा, उही : २९) ।

यसरी फत्तेजंगलाई गोली प्रहार गर्न सघाउनेमध्ये हवल्दार रणमेहर र जवान रामुलाई कोतपर्वपछि कप्तान दर्जा दिइयो (जबरा, उही : ३९) ।

कोतपर्वमा ३२ जनाको ज्यान गयो । २६ जना भागेर बचे । दुई जना बाहुन मुढिए । २६ जना निष्कासनमा परे । चार जना बाहिरबाटै भागे, खेदिए (नेपाल, उही : २५७-२६०) ।

कोतपर्वपछि शक्तिशाली बनेर उदाएका जंगबहादुरबाट महारानी राज्यलक्ष्मीको आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउने मनकांक्षा पूरा हुन सकेन । त्यसपछि उनले जंगबहादुरलाई मारेरै भए पनि मनकांक्षा पूरा गर्ने ध्येयले वीरध्वज बस्नेत अनि गगनसिंहका छोराहरू बद्रीसिंह र वजिरसिंहलाई हात लिइन् । भण्डारखालमा भोजका लागि जंगबहादुरलाई बोलाउने र त्यहीं उनको हत्या गर्ने योजना बन्यो। कर्णेल बद्रीसिंह भण्डारीले भण्डारखालमा ४०/५० जना सैनिक तैनाथ गरेका थिए । तर, जंगबहादुरले आफ्नी प्रेमिका रहेकी दरबारकी सुसारे पुतली मैयाँ र विजयराज पाण्डेबाट सम्पूर्ण षड्यन्त्रको तानाबाना थाहा पाइहाले । त्यसपछि आफ्ना भाइहरूका साथ हतियारले सुसज्जित भएर उनी राजदरबारको भण्डारखाल बगैंचा पुगे । स्वागत गर्ने बहानामा अघि सरेका वीरध्वजको गर्दन जंगबहादुरको इशारामा कप्तान रणमेहरले छिनाइहाले । १७ कात्तिक १९०३ को यस घटनामा १३ जनाको ज्यान जानुका साथै १७ जना भागी बेपत्ता भए (जबरा, उही : ४०-४२) ।

भीमसेनको मृत्यु अत्यन्तै बिजोगले भयो भने जंगबहादुरको मृत्युपछि उनका छोरा-नातिलाई उनकै भाइ धीरशमशेरका सन्तानले सिध्याए । कोही लुकीछिपी नेपालमै बसे भने कतिपय धनसम्पत्ति सहित भागेर भारततिर पलायन भए ।

१९३३ सालमा लखन थापाले गोरखाको बुङ्कोटमा विद्रोह गर्दा त्यहाँ लखनका साथै उनका ६ जना सहयोगीको पनि जंगबहादुरले ज्यान लिए । यसरी हेर्दा मुख्य मुख्य काण्ड वा पर्वमा गरी जंगबहादुरले ५२ जनाको हत्या गरेको देखिन्छ ।

गगनसिंहको हत्यारा जंगबहादुरका भाइ ?

रहस्यमै रहेको गगनसिंहको हत्याको आशङ्का प्रायः जंगबहादुरतिरै तेर्सिने गरेको छ । तर, जंगबहादुर तथा उनका वफादारहरूले लाल झा नामका व्यक्तिले गगनसिंहको हत्या गरेको प्रचार गरिरहे । जंगबहादुरले गगनसिंहका छोरा वजिरसिंहलाई विसं १९०४ वैशाख वदी ११ रोज १ (वैशाख १) मा लेखेको पत्रमा ‘…तिम्रा बाबालाई मार्न्या लाल झा सवारिरहेछ, उसलाई पक्रन पठाई ल्याई षारषेर गर्दा उसले कहेन र …विन्ति पारी कुंभेदानी दि फुल्याई सोधपुछ गर्दा मैले ३ जना मानीस सगमा लि आफु छानामा गै बन्दुक चलाई मार्न्या म हुँ भनि कायेल भै उस्का ३।४ पछि आफ्ना कालले मर्‍यो. उस्को धनमाल सर्वश्व भयो…’ भन्ने परेको छ (नेपाल, उही : २६३) । यस पत्र अनुसार गगनसिंहको हत्यारा लाल झा नै भन्ने किटान जंगबहादुरले गरेको देखिन्छ ।

वीरशमशेरका पनाति इतिहासविद् पुरुषोत्तमशमशेर जबराले भने किटेरै गगनसिंहको हत्याराका रूपमा जंगबहादुरका साहिंला भाइ बद्रीनरसिंहलाई उल्लेख गरेका छन् । उनका अनुसार, तत्कालीन प्रधानमन्त्री फत्तेजंग तथा जनरल अभिमानसिंहले गगनसिंहको हत्या गर्नुपर्ने ठहर्‍याई यसको जिम्मा जंगबहादुरलाई सुम्पेका थिए । जंगबहादुरले भने यो काम भाइ बद्रीनरसिंहलाई सुम्पिए । तत्कालीन कर्णेल बद्रीनरसिंहको गगनसिंहकी छोरीसँग प्रेम थियो । त्यहाँ बाक्लै आवतजावत हुने भएकाले गगनसिंहका सबै कोठाचोटाबारे जानकार थिए, उनी । गगनसिंहकी छोरीतर्फबाटै उनका छोराहरू कुमार नरसिंह र किशोर नरसिंहको जन्म भयो । त्यसैले गगनसिंहको हत्या गर्न बद्रीनरसिंहलाई पठाई जंगबहादुर आफू भने सेनाका जवानहरूलाई हतियारले सुसज्जित बनाई राजदरबार नजिक पुगिसकेका थिए । गगनसिंहको घरबाट फर्कंदै गर्दा महारानीले जंगबहादुरलाई आफ्ना पल्टनका सेनाका साथ भेटिन् । थापाथली बस्ने जंगबहादुर गगनसिंहको हत्याको सूचना पाई बिजुलीगतिमा कसरी आफ्ना सेनाका साथ हनुमानढोका राजदरबार आइपुगे, महारानीले पत्तै पाइनन् (जबरा, उही : ३५) ।

जंगबहादुर आफ्ना दलबल सहित सबैभन्दा पहिले आएको देखेर शुरूमा त महारानी छक्क परिन् । रानीले उनलाई आफ्नो पल्टन सहित आउनुको कारण सोधिन् । रानीको प्रश्नको जवाफमा जंगबहादुरले पनि ‘गगनका उनै हत्याराका हातमा महारानीको ज्यान पनि खतरामा परेको शङ्का लागेर महारानीकै सुरक्षाका लागि आफू पल्टन सहित आएको’ स्पष्टीकरण दिएर महारानीको चित्त बुझाएका थिए (पद्मजंग राणा, जंगबहादुरको जीवनयात्रा -२०७४ : ६६) ।

जंगबहादुरको यस्तो योजनाबद्ध क्रियाकलापका कारण पनि गगनसिंहको हत्यामा उनको भूमिका थियो भन्ने झल्को आउँछ ।

गगनसिंहको हत्यामा बद्रीनरसिंहको संलग्नता रहेका अन्य तथ्य पनि छन् ।

गगनसिंहको हत्याका वेला १२ वर्षका बालक रहेका महावीरसिंह गड्तौलाले पछि बाबुराम आचार्यलाई गगनसिंहको घर देखाएर ‘ऊ ! त्यहाँ घरको कुनामा मारेको । बद्रीनरसिंह उताबाट आए, गगनसिंहलाई ट्वाक्क गोली हानी फुत्त भागे’ भनेका थिए । आचार्यलाई उनका बाजेले पनि यस्तै कुरा गरेका थिए । चन्द्रशमशेरको पालामा मीर सुब्बा रामभक्तले टिपेको जाहेरीमा पनि गगनसिंहको मृत्यु बद्रीनरसिंहकै हातबाट भएको उल्लेख छ । गगनसिंह मारिएपछि घटनास्थलबाट कुलेलम ठोकेका बद्रीनरसिंहलाई जंगबहादुरले राति कोतबाट राजा राजेन्द्रविक्रम शाह निस्केर हिंड्दा उनको चियो गर्न पछि पछि खटाएका थिए (नेपाल, उही : २३६) ।

यस्तो जालझेल र खेलचुक्लीमा जंगबहादुर निपुण थिए ।

क्रूरताको हद 

भारदारहरूको रगतको होली खेलेर सत्तारोहण गरेका भीमसेन र जंगबहादुर दुवैले ३०-३० वर्षभन्दा बढी एकलौटी र निरङ्कुश शासन चलाए । तर, मानिसको हत्याको हिसाब हेर्दा जंगबहादुरभन्दा क्रूर भीमसेन देखिन्छन् । विरोधी दलका सदस्य सिध्याउन किञ्चित् अप्ठ्यारो नमान्ने जंगबहादुरले भीमसेनले जस्तो भारदारका बालक छोराहरूलाई मार्ने र मृतकका श्रीमती-छोरीहरूलाई जात पतित गराउन पोडे-च्यामेलाई सुम्पिएको विवरण भने पाइएको छैन । भीमसेनले त मारिएका भारदार र उनीहरूका बालक छोराहरूको अन्तिम संस्कार पनि गर्न नदिई उनीहरूको शव गिद्ध र स्याललाई लुछाउन लगाएका थिए ।

भीमसेन नेपालको भूभाग गुमाउने शासकका रूपमा चिनिन्छन् भने जंगबहादुर चाहिं गुमेको भूभाग अङ्ग्रेजबाट फर्काउने शासक हुन् । २४ फागुन १८७२ मा सुगौली सन्धि हुँदा त्यहाँको एउटा बुँदामा ‘महाकाली पश्चिमका कुमाउ आदि पहाडी प्रदेशको दावा नेपाल सरकारले छाडिदिने, सिक्किमको आधिपत्य छाडेर सिंगलिला र मेची नदीदेखि पूर्वपट्टिको पहाडी र तराईबाट समेत गोरखाली सेना उठाइदिने र कम्पनी सरकारका सैनिकले दख्खल गरिलिएको (खास बुटवल) बाहेक सारा बाहिरी तराई नेपाल सरकारले कम्पनी सरकारलाई सुम्पिदिने’ उल्लेख छ (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ८४- वैशाख २०५० : ४१) ।

भारतमा अङ्ग्रेज विरुद्धको सैनिक विद्रोह दबाउन भूमिका खेल्दै जंगबहादुर भने सुगौली सन्धि मार्फत गुमेको नेपालको केही भूभाग फर्काउन सफल भए । अङ्ग्रेज सरकारले विसं १९१६ जेठ-असारमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दियो (जबरा, उही : १२२) । तर, भीमसेन नेपालका राष्ट्रिय विभूति घोषित भए भने जंगबहादुर चाहिं निरङ्कुशता र जहानियाँ शासनको जरो गाड्ने शासकका रूपमा चित्रित छन् ।

इतिहासविद् महेशराज पन्तको लेखाइ अनुसार, नेपालमा जहानियाँ शासनलाई प्रश्रय दिने पहिलो शासक हुन्, भीमसेन । उनी लेख्छन्, ‘जंगबहादुरले त आफ्ना प्रतिद्वन्द्वीलाई मात्र मारे, उनीहरूको शाखा सन्तानै मारेनन् । भीमसेनले त आफ्ना प्रतिद्वन्द्वीका सन्तानसमेतलाई बाँकी राखेनन्, प्रतिद्वन्द्वीका स्त्रीहरूलाई तल्लो जातमा मिलाउनेजस्तो निन्दनीय काम गरे’ (डा. महेशराज पन्त, कान्तिपुर कोसेली -२०७८ कात्तिक २७ : क) ।

भीमसेनले शक्तिले भ्याएसम्म जहानियाँ शासन चलाउन बाँकी राखेका थिएनन् । उनले आफू र आफ्ना बाबुलाई जर्नेल बनाई आफ्नो वंशका बाहेक अरूलाई होच्याउने काम गरे । काँगडाको लडाइँमा अमरसिंह थापाले गरेको काम छोपी आफ्ना भाइ नयनसिंह थापाको काम बढाइ-चढाइ गराउन भीमसेनले बाँकी राखेनन् । लड्दा लड्दा जिन्दगी बिताएका भारदारहरूको नामसमेत नलिई आफ्ना बाबुले अङ्ग्रेजको बललाई रोकिरहेको प्रचार गर्न उनी पछि परेनन् । लिखतहरूमा आफ्ना बाबु र चार भाइसमेत जम्मा ६ जनाले राजाको र सारा नेपालको रक्षा गरिरहेको प्रचार गराई उनले जहानियाँ शासनलाई प्रश्रय दिए (पन्त, उही) ।

दुवैको दुःखान्त

भीमसेन र जंगबहादुर दुवै नेपालका निरङ्कुश र जहानियाँ शासक थिए । यीमध्ये भीमसेनको मृत्यु अत्यन्तै बिजोगले भयो भने जंगबहादुरको मृत्युपछि उनका छोरा-नातिलाई उनकै भाइ धीरशमशेरका सन्तानले सिध्याए । कोही लुकीछिपी नेपालमै बसे भने कतिपय धनसम्पत्ति सहित भागेर भारततिर पलायन भए । आज जंगबहादुरका कुनै पनि सन्तान सार्वजनिक रूपमा उच्च हैसियत बनाएर क्रियाशील भएको पाइंदैन ।

कान्छी मुख्यानीको बेइज्जत गरिने हल्ला सुनेपछि आफ्नो अपमान र बदनामी हुने डरले भीमसेनले खुकुरीले आफैंलाई सेरे । यसरी आत्महत्याको अनुचित प्रयास गरेको आरोपमा नवयुवक राजा राजेन्द्रविक्रम र महारानी साम्राज्यलक्ष्मीको हुकुम अनुसार रगतले लतपतिएको उनको अर्धचेत शरीर विष्णुमती किनारमा फ्याँकियो । अनि; जीवन-मरणको दोसाँधमा घुर्रघुर्र गर्दै, मध्य वर्षात्‌को झरीमा भिज्दै स्याल, कुकुर र गिद्धबाट घेरिएर नौ दिनसम्म जीवित रही ६४ वर्षको उमेरमा देहत्याग गरे ।

राजदरबारभित्र विष मुद्दा बल्झिएपछि भीमसेन आफ्नै बागदरबारमा नजरबन्दमा परे भने उनकी कान्छी मुख्यानी पनि कडा कैदमा परिन् । त्यसपछि काठमाडौंमा कान्छी मुख्यानीको बेइज्जत गरिने हल्ला कैदी भीमसेनको कानमा पर्‍यो । आफ्नो अपमान र बदनामी हुने डरले आवेगमा आएर उनले ८ साउन १८९६ मा कम्मरमा भिरेको खुकुरीले आफैंलाई सेरे । त्यस वेला यिनीप्रति सहानुभूति दिने पनि कोही थिएनन् । यसरी आत्महत्याको अनुचित प्रयास गरेको आरोपमा नवयुवक राजा राजेन्द्रविक्रम र महारानी साम्राज्यलक्ष्मीको हुकुम अनुसार रगतले लतपतिएको उनको अर्धचेत शरीर विष्णुमती किनारमा फ्याँकियो । यो त्यही ठाउँ थियो, जहाँ ३३ वर्षअघि भीमसेनले चौतारा विदुर शाही, शेरबहादुर शाही, पाल्पाली राजा पृथ्वीपाल सेन तथा उनीहरूका छोरा-नाति गरी ४५ जनाको हत्या गरी लास स्याल, कुकुर र गिद्धहरूबाट लुछाएका थिए । उनी पनि जीवन-मरणको दोसाँधमा घुर्रघुर्र गर्दै, मध्य वर्षात्‌को झरीमा भिज्दै स्याल, कुकुर र गिद्धबाट घेरिएर नौ दिनसम्म जीवित रही ६४ वर्षको उमेरमा १६ साउन १८९६ मा देहत्याग गरे (बाबुराम आचार्य, जनरल भीमसेनः यिनलाई मैले जस्तो देखें -२०६५ : ६२-६३) ।

जंगबहादुरको भने शिकारमा गएका वेला पत्थरघट्टामा १३ फागुन १९३३ मा मृत्यु भयो । उनको मृत्युपछि उनैले बाँधेको रोलक्रम अनुसार भाइ रणोद्दीपसिंह श्री ३ महाराज भए । जंगबहादुरले भाइहरू रणोद्दीपसिंह, जगत्‌शमशेर र धीरशमशेरको रोल बाँधिदिएका थिए । त्यसपछि क्रमशः उनका छोराहरू जगत्‌जंग, जितजंग, पद्मजंग, रणवीरजंग र नाति युद्धप्रतापजंगको श्री ३ महाराज हुने पालो थियो । तत्कालीन लेफ्टिनेन्ट कर्णेल वीरशमशेरको पालो त १६औं नम्बरमा थियो (जबरा, उही : १४४-१४५) । तर, उनी आफ्नै ठूलाबाबु रणोद्दीपसिंहको १९३८ मा हत्या गरेर श्री ३ महाराज घोषित भए । त्यसपछि उनले जंगका खलककै नामोनिशान मेटाइदिने उद्योगतर्फ ध्यान दिए ।

वीरशमशेर श्री ३ महाराज भएपछि जंगबहादुरका छोराहरूले असुरक्षा महसूस गर्न थाले । उनीहरूमध्ये पद्मजंग र रणवीरजंगले आफूले साथमा लैजान सक्ने जति गरगहना, सुनचाँदी बोकेर ८ मंसीर १९४२ मा लैनचौरस्थित ब्रिटिश दूतावासमा शरण लिए। जगत्‌जंगका छोरा जर्नेल युद्धप्रतापजंग पनि भाग्न खोज्दै थिए । तर, आफूसँग भएको गरगहना लिन उनी घरभित्र पसे। मुख्तियार खड्गशमशेरले उनीहरूलाई जिउँदो वा मुर्दा जेजस्तो अवस्थामा भए पनि ल्याउन आदेश दिई ठाउँ ठाउँमा फौज खटाएका थिए । कर्णेल ललितमानसिंह बस्नेत नेतृत्वको फौजले युद्धप्रतापजंगलाई कुरियागाउँको फाँटमा भेट्यो । जीवितै अवस्थामा पक्राउ गरेर दाखिला गर्नुका सट्टा उनको हत्या गरी टाउको काटेर किस्तीमा राखी बागदरबार लगियो। बागदरबारबाट पठाइएको अर्को सैनिक टोलीले बिहान झिसमिसेमै मनहरा दरबार पुगी जंगबहादुरका जेठा छोरा जगत्‌‌जंगको हत्या गरी शिर छुटाएर लगिसकेको थियो (प्रमोदशमशेर राणा, राणाशासनको वृत्तान्त, २०६५ : १३३-१३४) ।

यसरी जंगबहादुरका सन्तानमध्ये कतिपयको हत्या भयो, कतिपय ब्रिटिश दूतावासको शरण लिएर बाँची भारततिर पलायन भए । कतिपय पहिचान लुकाएर लुकीछिपी नेपालमै बसे । नेपाली सूक्तिलाई सापट लिएर भन्नुपर्दा निरङ्कुशताका पर्याय भीमसेन र जंगबहादुरका सन्दर्भमा धुरीबाट पाप करायो ।

Comments

comments