स्वस्थानी कथामा वर्णन गरिएजस्तो महिलाहरु पापिनी हुन् भने हामी सबै पापिनी हौं ! ‘आँखा तर्ने, लुकाएर खाने, रिसाउने, मुखमुखै लाग्ने, महिनावारी नबार्ने, व्रत नबस्ने !’ कति महिलाले आँखा कति तरे तरे ! लुकाएर त कति खाइयो ! कति रिसाइयो ! कति मुख छाडियो ! व्रत कहिल्यै बसिएन ! जरूर साथी, हामी असंस्कारी ! जरूर साथी, हामी पापिनी !

शिक्षा रिसाल

माघे संक्रान्तिमा बाँकी भएका तिल, लड्डु, चाकु अनि कहिलेकाहीँ सुन्तला र बदाम ! घरमा यस्तै हुन्थे– श्रीस्वस्थानीका प्रसाद । प्रसादको लोभले पनि हात जोडेर स्वस्थानीको कथा सुन्न बस्थ्यौं । बहाना स्वस्थानी भए पनि सबैको ध्यान प्रसादमै हुन्थ्यो । हाम्रो पुस्ताका लागि ‘स्वस्थानी’ एउटा ‘नोस्टाल्जिया’ हो ।

साँझ पर्नासाथ सबै जना हात धोएर बिहान बगैंचाबाट टिपेका फूलमा अलिकति पानी हालेर पुष्पाञ्जली बनाउँथे । अनि सबै एकाग्र भएर सुन्न बस्थे ।

आँखा बन्द गरेर घाँटीका नसा फुलाउँदै ‘यम ब्रह्म बरुरेन्द्ररुद्र…’ स्वस्थानी व्रत कथा सुरु गर्थे ।

‘कुमारजी आज्ञा गर्नुहुन्छ— हे अगस्त्य मुनि’ !

हजुरबुबाको विशेष प्रभाव थियो ममा । उहाँलाई मैले लयमा स्वस्थानी वाचन गरेको खुब मन पर्थ्यो । स्वस्थानीको कथा हरेक वर्ष पढ्दापढ्दै कण्ठ भइसकेको थियो । तर, पनि कुनैकुनै बेला घाँटी किक्लिक्क हुन्थ्यो । डर लाग्थ्यो । रुन आउँथ्यो  ।

बाल्यकालमा स्वस्थानी एउटा दन्त्यकथाजस्तो लाग्थ्यो । बाल्यकालमा दन्त्यकथा कसलाई मन पर्दैन र !

वर्षैभरि कहिले स्वस्थानी पढ्ने दिन आउलाजस्तो लाग्थ्यो । अलि पढ्न सक्ने भएपछि त म आफैं खरर स्वस्थानी पढ्न थालिसकेकी थिएँ । तर, स्वस्थानीप्रतिको झुकाव लामो समय टिक्न सकेन ।

हुर्कंदै गर्दा स्वस्थानीप्रतिको दृष्टिकोणमा परिवर्तन हुँदै जान थाल्यो । यो मलगायत धेरैले अनुभव गरेको कुरा हो । अहिले आएर स्वस्थानी समस्यै समस्या र असमानताले भरिएको एउटा ‘आउटडेटेड’ ग्रन्थजस्तो लाग्छ । यस्तो ग्रन्थ— जसले समाजलाई अघि होइन, झन् पछि धकेल्ने काम गर्छ । सामाजिक चेतना बढाउने होइन, खुम्च्याउने काम गर्छ ।

नट माई स्वस्थानी !

किन ?

महिला अत्याचारको कथा मन पर्नुपर्छ भन्ने छैन । पहिले पो चेतना थिएन, मन पर्थ्यो । पुरुष–महिलाबीचको असमानता थाहा थिएन, रमाइलो लाग्थ्यो । बिस्तारै पितृसत्तात्मक समाजमा हुर्कंदै गएपछि यो ग्रन्थमा भएका समस्या देखिन थाले । स्वस्थानीमा भएका महिला पात्रहरूमा आफूलाई देखिन थालियो । उनीहरूका पीडा आफ्ना लाग्न थाले ।

हुन त कत्तिको नाजुक आस्थामाथि ठेस लाग्ने होला, तर स्वस्थानी किताब पढ्न बन्द गरिदिए हुन्छ । वा यसमा संशोधन हुनुपर्छ । तर, त्यो पनि सम्भव नहोला । किनकि यो हाम्रो संस्कारमा घुलिसकेको छ । बालबालिकाहरू यही कथा पढ्दै, सुन्दै हुर्किन्छन् । उनीहरूमा विकास हुने चेतनामा लैंगिक असमानताको जरो गढिसकेको हुन्छ ।

कोही जन्मिँदै शोषक र पितृसत्ताको समर्थक हुँदैन । समाजले बनाउने हो । माफ गर्नुहोस् ! तर, यस्ता ग्रन्थहरू सुनाउन बन्द गरिएन भने हामी झन् ढुंगेयुगतिर जानेछौं ।

स्वस्थानी व्रतकथाअनुसार, महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा फेरि उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकीले महादेव पति पाएको विश्वास गरिन्छ । व्रतको प्रभावले शिव–पार्वतीको विवाह भएको कुरा पौराणिक धर्मग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

यो कथा पढ्दा म सधैं काल्पनिक संसारमा पुग्थें । ग्रन्थमा उल्लेख गरिएका कुराहरू सबै मेरो दिमगभरि चल्थे । मन उद्विग्न हुन्थ्यो ।

स्वस्थानी कथाका सबै घटना काठमाडौंवरपरै भएको देखिन्छ– सत्य युगमा । जस्तै : साँखुमा साली नदी, श्लेषमान्तक वन !

स्वस्थानी कथाको प्रभाव भएर होला— मेरो घरमा भिक्षा माग्न आउने जोगीले कहिल्यै कुर्नुपरेन । जब कोही भिक्षा माग्न आउँथे, म दौडँदै गएर एक पाथी चामल दिन्थेँ । एक दिन आमाले देखिहाल्नुभो । ‘यत्रो धेरै कसले दिन्छ ?’ मैले रुन्चे स्वरमा भनेँ, ‘अनि मलाई सराप दिए भने ?’ कत्रो डर ? कथामा एक पात्र छिन्— गोमा ।

गोबरबाट जन्मिएकी उनी एक दिन घरमा एक्लै हुँदा कनिका केलाएर बसेकी हुन्छिन् । यत्तिकैमा भगवान् शिवजी एक जोगीको रूप धारण गरेर आउँछन् । गोमाले ‘एकै छिन है, कनिका केलाइसकेपछि भिक्षा दिन्छु’ भन्छिन् । तर, शिवजीले उनलाई श्राप दिनु थियो, दिन्छन् । उनले ५ वर्षकी नानीलाई श्राप दिन्छन्, ‘लौ, तेरो सात वर्षको उमेरमा सत्तरी वर्षको बूढोसँग बिहे हुनेछ । पापिनी, तैंले दुःख पाउनेछस् !’

फेरि उही शिवजी ७० वर्षको वृद्ध शिवशर्मा ब्राह्मण बनेर आउँछन् । अनि गोमा ब्राह्मणीसँग बिहे गर्छन् । पूजाका लागि उनी फूल टिप्न रूख चढ्छन् अनि खसेर मर्छन् । उनको आत्मा कैलाशतिर जान्छ । वर्षौंपछि उनका छोरा नवराज आएर रूखमुनि हेर्दा आफ्ना बाउको हाडखोर फेला पार्छन् ।

स्वस्थानी महिला पात्रहरूले असाध्यै दुःख पाएको कथा हो ।

स्वस्थानीमा भनिएको छ, ‘एउटी महिलाले आफ्नो श्रीमान्लाई आँखा तरेर हेरे अन्धी हुन्छे । मुख चलाए लाटी हुन्छे । लुकाएर खाए कुकुर्नी हुन्छे ।’

यी हरफ पढ्दा मलाई सानै बेला रिस उठ्थ्यो । अहिले एकदम क्रोधित हुन्छु । स्वस्थानीमा महिलाका व्यवहारहरू वर्णन गरिएका छन् ।

जस्तै : रातो–रातो आँखा पारी । दाह्रा किटी । आँखाबाट आँसु खसाली ।

यो कस्तो हेपाइको भाषा हो ?

‘श्री स्वस्थानी माता को हुन् ? कहाँबाट आइन् ? कहाँ छिन् ?’ भनेर गोमाकी बुहारी चन्द्रावतीले प्रश्न मात्रै के गरेकी थिइन्– बिचरा वर्षौंसम्म साली नदीको तीरमा श्रापित जीवन बाँच्नुपर्‍यो । कहिले होसमा आउँदै, कहिले बेहोस हुँदै बस्नुपर्‍यो । चन्द्रावतीको कोणबाट हेरौं । गरिब घरमा बिहे भयो । त्यसमाथि श्रीमान् पनि बुबाले खोजिदिए । त्यतिबेला उनलाई माइत जान मन लाग्यो, गइन् । त्यसमा सबैले उनको कुरा काटे– ‘दुःखका बेला एक्ली सासूलाई छाडेर चन्द्रावती माइत गई । कस्ती पापिनी !’

नवराज राजा भए लावण्य देशको । अनि आफू महारानी भएपछि वर्षौंसम्म वियोगमा बसेकी चन्द्रावतीलाई श्रीमान भेट्न हतार भइहाल्ने भयो । नवराजले चन्द्रावतीलाई लिन डोलेहरू पठाए । डोलेहरूलाई भोक लाग्यो । त्यही वनमा अप्सराहरू आई स्वस्थानीको व्रत–पुञ्ज गर्न लागेका हुन्छन् । प्रसाद लिएर जाँदा चन्द्रावतीले आँखा रातो पारिन्, दाह्रा किटिन्, बलिन्द्र आँसुका धारा खसालिन् । डोलेहरूलाई गाली गरिन् । ४ जना हुँदा २–२ जना भएर खाना खोज्न गएका भए पनि हुन्थ्यो । सुनसान वनमा महारानीलाई एक्लै छाडेर जाँदा उनी बिच्किनु स्वाभाविक थियो ।

त्यसपछि चन्द्रावतीले प्रसाद खाँदिनन् । उल्टो फालिदिन्छिन् र खुट्टाले कुल्चेर थु… थु… गर्छिन् भनी स्वस्थानीमा लेखिएको छ ।

त्यसपछि चन्द्रावतीका दुःखका दिन सुरु हुन्छन् । साली नदीमा आँधीहुरी आउँछ । डोलेहरूलाई बगाउँछ । डोलेहरूले स्वस्थानीको व्रत–पुञ्ज प्रसाद खाएकाले उनीहरूले मोक्ष प्राप्त गर्छन् । तर, चन्द्रावती ? वर्षौंसम्म साली नदीको तीरमा कहिले मूर्च्छा पर्छिन्, कहिले अवचेतन अवस्थामा हुन्छिन् । त्यत्रो राजाले आफ्नी श्रीमती कहाँ छिन् भनेर किन पत्ता लगाउन नसकेका होलान् ?

अझै सबैभन्दा डरलाग्दो— ऋषिहरूले जब चन्द्रावतीलाई खानेकुरा ल्याइदिन्छन्, तब—‘माटो खाऊँ भन्दा ढुंगा भयो, ढुंगा खाऊँ भन्दा खरानी भयो, खरानी पनि खाऊँ भन्दा ठूलो बतास आएर उडाएर लग्यो ।’

अनि ऋषिहरूले पनि चन्द्रावती त साह्रै पापिनी रहिछे भन्ने निर्क्योल निकाली जान्छन् । तर, फेरि स्वस्थानी माताको व्रत बसेपछि उनका सबै पाप नष्ट हुन्छन् । उनी पखालिन्छिन् । उनी चोखो हुन्छिन् । उनलाई अप्सराहरूले भन्छन्– तँ अब पापिनीबाट पुण्यवती भइस् !

बाल्यकालमा जब चन्द्रावतीको कथा सुनिन्थ्यो, तब हामीलाई पनि चन्द्रावती नै गलत लाग्थ्यो । उनले सजाय पाएर दुःख पाउँदा आनन्द आउँथ्यो । अझै दुःख पाए हुन्थ्योजस्तो लाग्थ्यो । हो, हाम्रा ग्रन्थहरूले यही कुरा सिकाइरहेका छन् । देउता र भगवान्हरूले जे–जसो गरून्— सब माफ हुने ! मानिसले अलिकति बाटो बिरायो भने श्रापित जीवन बाँच्नुपर्ने ! खोलाको बगरमा मुढोझैं सुत्नुपर्ने ! त्यहीमाथि महिलाले त बाटो बिराउनै भएन । नत्र त ऊ पापिनी, राक्षसनी भइहाली !

भगवान् होलान्/नहोलान्, आफ्नो ठाउँमा छ, तर स्वस्थानीजस्ता किताबले भगवान्सँग डराउनुपर्छ भनी सिकाउँछन् । देउताहरूलाई नपुजे जीवन नर्कबराबर हुन्छ भनी पढाउँछन् । बाल्यकालमा स्वस्थानीको किताब कुल्चिँदा वा झुक्किएर भुइँमा खस्दा पनि हाम्रो सातो जान्थ्यो । ओहो ! स्वस्थानी माताले अब श्राप दिन्छिन् भनेर रातभर निद्रा लाग्दैनथ्यो । खाँदा–खाँदै प्रसाद मुखबाट खसेर भुइँमा पुग्यो भने ‘ला ! अब चन्द्रावती भइने भयो’ भनेर मनबाट चैन हराउँथ्यो ।

स्वस्थानी कथामा वर्णन गरिएको जस्तो महिला सबै पापिनी हुन् भने हामी सबै पापिनी हौं !

‘आँखा तर्ने, लुकाएर खाने, रिसाउने, मुखमुखै लाग्ने, महिनावारी नबार्ने, व्रत नबस्ने !’

कति महिलाले आँखा कति तरे तरे ! लुकाएर त कति खाइयो ! कति रिसाइयो ! कति मुख छाडियो ! व्रत कहिल्यै बसिएन !

जरुर साथी, हामी असंस्कारी !

जरुर साथी, हामी पापिनी !

शिवजीले सतीदेवीलाई धेरै माया गर्ने रहेछन् । तर, सतीदेवीले आगोमा हाम फालिन् । यो कथा पनि मलाई कहिल्यै चित्त बुझेन । सतीदेवीको शरीर लिएर फेरि शिवजी संसारभरि पुग्छन् । बहुलाउँछन् । सतीदेवीको शरीरका अंग पतन हुँदै जान्छन् । त्यहाँ सबै शक्तिपीठहरू बन्दै जान्छन् ।

सतीदेवी फेरि पार्वतीका रूपमा जन्म लिन्छिन् । अनि श्रीस्वस्थानी र तीजका व्रत सबै बसेपछि महादेवसँग विवाह गर्न पाउँछिन् ।

ओहो ! आगोमा जलेर खरानी भई अर्को जन्म लिई दुनियाँ तपस्या गरेपछि शिवजीलाई पाउने रे ! के अत्याचार हो यो ? यो प्रेम हो कि दासत्व ?

शिवजी पनि कति ‘कुल’ ! मन लागे वनमा मृग बनेर डुलेको छ । पार्वतीले मलाई चिन्छे कि चिन्दिनँ भनेर गेम खेलेको छ । मन लागे खोलामा गएर सबै अप्सरालाई गर्भवती बनाइदिएको छ । तर, जब जालन्धर आएर पार्वतीसँग ‘फ्लर्ट’ गर्न खोज्छन्, तब उसको भागमा मृत्यु ! वाह रे शिवजी ! त्यो पनि उनकै पत्नीको तपस्या भंग गरेर रे ! विष्णु भगवान् जालन्धर बनेर वृन्दाकोमा जान्छन् । वृन्दालाई के थाहा— आफ्नै श्रीमान् हो सोच्छिन् नि ! यता श्रीमतीको तपस्या भंग, उता श्रीमान्को मृत्यु !

मानिसजस्तै भगवान्का पनि कमजोरी छन् । भगवान्हरूमा पनि समस्या छन् । तर, भगवान्का सबै गल्ती माफ, मानिसलाई सजाय ! भगवान्का गल्तीहरू ‘चतुर्‍याइँ’, मान्छेका गल्तीहरू ‘पाप’ ! महिलालाई त झन् घोर सजाय !

त्यसो त हाम्रो धर्ममा महिलाले दानवहरूको नष्ट पनि गरेका छन् । मधु कैटव, चण्डमुण्ड, महिषासुरजस्ता राक्षसलाई सखाप पार्ने पार्वतीका अनेक रूप हुन् । जब घोर अन्याय हुन थाल्छ, तब एक महिलाले कालीको रूप धारण गर्छिन् रे ! महिला भगवान् प्रायः कम शक्ति भएकाहरू देखिन्छन् । कालीलाई अलिकति बलियो देखाइएको छ, तर उनी पनि रिसाहा र एकोहरो स्वभावकी रे ! शक्ति बाँडफाँटमा पनि यहाँ असमानता छ ।

यी भगवान्लाई भने वर्षौं पत्थर बनेर बस्नु नपर्ने । अहल्याको कथा पनि त्यस्तै छ । गौतम ऋषिकी पत्नी अहल्या निकै सुन्दर हुन्छिन् । इन्द्र त एक नम्बरको लम्पट भइहाले । उनलाई अहल्या मन पर्‍यो भन्दैमा सूर्य भगवान्लाई आधा रातमा उदाउन भन्छन् । सूर्य पनि मान्ने फेरि ! गौतम ऋषिको भेष धारण गरेर अहल्यासँग सम्भोग गर्छन् इन्द्रले । अब यसमा अहल्याको के दोष ? गौतम ऋषिले यो कुरा थाहा पाउँछन् । त्यसको सजायस्वरूप अहल्या वर्षौंसम्म पत्थर भएर बस्नुपर्छ । मुक्ति पाउन भगवान् रामको जन्म र कति जुनी पर्खिनुपर्छ । के अत्याचार हो यो ?

ढुंगा त भगवान् विष्णु पनि भए । उनलाई पनि शालिग्राम हुनुपर्‍यो । झार र रूख हुनुपर्‍यो । तर, उनलाई तिनैमा कैद हुनुपरेन ।

यी कथाहरू कति सत्य होलान्, कति मिथ्या होलान्— थाहा छैन । तर, यस्तै ग्रन्थले समाजमा प्रभाव पार्छन् । संस्कार र संस्कृतिमा हावी हुन्छन् । समस्याग्रस्त यस्ता ग्रन्थले पितृसत्तात्मक आडम्बरले मात्तिएको समाजलाई झन् बल दिन्छन् ।

लेख्नेले पनि कमाल लेखेको छ । यसरी लेखेको छ कि मानौं सबै शतप्रतिशत सत्य घटना हुन् । साली नदी भनेको छ । साली नदी पनि वास्तविक ठाउँ हो । सतीदेवीको अंग पतन भएका पीठहरू पनि छन् । यस्ता तत्त्वले मानिसमा झन् विश्वास पैदा गर्छन् ।

धर्म भनेको के हो ? एउटा अनुशासन हो । नियम हो, जसले मान्छेलाई कुकर्म र गलत बाटोमा जानबाट रोक्छ । सत्मार्गमा डोर्‍याउँछ । के त्यो भएकै छ त ? लैंगिक भेदभाव र असमानताका कथाले कसरी नयाँ पुस्तालाई असल बाटो देखाउन सक्छन् ?

तर, प्रश्न गर्नु हुँदैन । कसैले यहाँ धर्मलाई अलिकति पनि आलोचना गर्‍यो भने ‘डलरवादी, फेमिनिस्ट, आस्थामाथि आँच पुर्‍याएको’ आदि प्रतिक्रिया आउँछन् ।

‘हिन्दु धर्म धेरै लचिलो छ । सहनशील छ । अरू धर्मबारे आलोचना गर्न पनि पाउँदैनौ’ भन्दै रटेको जवाफ आउँछ ।

धर्म, देवता र संस्कारमा बहसै गर्नु हुन्न, यी कुरालाई छुनै हुन्न भन्ने अघोर पुरातनवादीको झुन्डले समाज बिटुलो बनाएको छ ।

धार्मिक ग्रन्थहरूले पस्किने अन्धविश्वासबारे विमर्श किन हुँदैन ? छलफल र बहस किन हुँदैन ? अस्ति भर्खर एउटा लेख पढेकी थिएँ । लेखको आशय थियो— आख्यानका किताबबारे कसैलाई मतलब छैन, तर स्वस्थानीका किताब सबैका घरमा सजिएका छन् । बौद्धिकता पस्कने आख्यानका किताबहरू बेवास्ता गर्दै कुरीति, अन्धविश्वास र लैंगिक असमानता पस्कने ग्रन्थहरू घरघरमा, चोकचोकमा भेटिन्छन् । यसैले देखाउँछ हाम्रो समाजको दिशा ।

हिन्दु धर्मका धेरै ग्रन्थ छन् । वेद र कथाहरू छन् । एक युगले अर्को युगमा कथा बुन्दै बुन्दै गएको छ । एउटै कथाले हजार कथा बोकेका छन् । धेरै कुरा राम्रा पनि छन् । तिनले नैतिकता र आचरण सिकाउँछन् । राम्रा कुराबारे बहस आवश्यक पनि छैन । तर, गलत कुराहरू सिकाइनु हुँदैन । पढाइनु हुँदैन ।

‘गीता’ कै कुरा गर्ने हो भने स्वामी गौर गोपाल दासले भनेका छन्, ‘गीता एउटा ग्रन्थ मात्र होइन, जीवन कसरी जिउने भनी सिकाउने एउटा अनुपम र सुन्दर रचना हो ।’ हुन पनि गीताका हरफ सुन्दै प्रेरणादायी लाग्छन् ।

‘रामायण’ र ‘महाभारत’ हेर्ने हो भने त्यही व्यथा छ । सीता हुन् या द्रौपदी, राधा हुन् या रुक्मिणी— सबै पीडित छन् । सबै चपेटामा परेका छन् । युद्धका दोष पनि उनीहरूले नै बोकेका छन् ।

पुरुषहरू पनि बुझिनसक्नु छन् । युद्धमा हजारौं, लाखौंले रगत बगाउँछन् । आफ्नो पुरुष दम्भ र आडम्बरका कारण युद्ध रच्छन् । अनि भन्छन्, ‘जतिजति ठूला युद्धहरू भएका छन्, सबै स्त्रीका कारण भएका छन् ।’

प्रिय पुरुषहरू ! आफ्नो अहम् र दम्भलाई महिलाको पछ्यौरीमा कति लुकाउँछौ ?

आमा भन्नुहुन्छ, ‘यो सबै लेख्नेले जस्तो पायो त्यस्तै लेखेर हो । संस्कृतबाट उल्था गर्दा कुराहरू बिग्रिएका हुन् । यतिसम्म कठोर छैनन् हाम्रा कथाहरू ।’

तर, जब–जब राधा, रुक्मिणी, सीता, अहल्या, द्रौपदी, गोमा, गान्धारी, कुन्ती र सुपर्णखाका कथा सुन्छु, सोच्छु– धर्मजति कठोर अरू के नै छ र ?

 माघ २२, २०७८ मा प्रकाशित कोसेलीबाट साभार ।

Comments

comments