प्रेमपत्र

  • विजयालक्ष्मी

प्रिय तिमी !

जन्मनेबित्तिकै मुहारमा जातीयताको चिह्न लगाइदिने चलन भएको भए, या त मैले पढेका पत्रपत्रिका, किताब र सुनेका समाचारले जातीयताको उन्मूलन भई समानताको युग आएको उद्घोष नगरेको भए, आज यो पत्र म तिमीलाई होइन, कुनै ‘उच्च जातको’ प्रेमीलाई लेखिरहेकी हुन्थेँ होला ।

सानै हुँदा अर्थ नबुझे पनि ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्दै देवकोटाको मुनामदन हजुरआमाको काखमा बसी पढेको याद छ । मीठो लयमा यो कविता गाएर सुनाउँदा उहाँ मख्ख पर्नुहुन्थ्यो । र, एकछिनपछि हजुरआमा मलाई  कान्छी कमिनीले माझेका भाँडा चोख्याउन अह्राउनुहुन्थ्यो । अनि, म त्यही कविता रट्दै धारातिर दौडिन्थेँ । यसरी मैले पाएको शिक्षा र देखेको व्यवहारबीच द्वन्द्व नभइदिएको भए, हजुरआमाले त्यतिबेलै देवकोटाको त्यो काव्यात्मक पंक्ति गलत हो भनिदिएको भए, आज म यो पत्र कुनै ‘उच्च जातको’ प्रेमीलाई लेखिरहेकी हुन्थेँ होला ।

कलेजको दोस्रो दिन कुनै अपरिचित केटाले ‘वेलकम प्रोग्राम’मा रक्तदान गर्ने मेरो प्रस्तावमा समर्थन जनाएको थियो । त्यसबेलाको भागदौडबीच तिम्रो भरपर्दाे साथ काफी थियो, कार्यक्रम सफल भएथ्यो । भलाद्मी अनुहारमा कालो चारपाटे फ्रेम भएको चस्मा, गम्भीर हेराइ, शालीन व्यवहार, मीठो हाँसो, मिजासिलो बोली नै तिम्रो परिचय बनेथ्यो । सायद तिमीलाई चिन्नुअघि  समाजले चित्रण गर्ने तिम्रो जात चिनेकी भए पनि आज म यो पत्र कुनै ‘उच्च जातको’ प्रेमीलाई लेखिरहेकी हुने थिएँ कि ?

तर, आज समाज अझै पनि जातभातको मैलोमा लत्पतिएको देख्दै छु । तिमी दस्तावेजको दुनियाँबाट बाहिर आऊ,  कलेजको गेटबाहिर आएर त हेर, समाज सुधार र नयाँ कानुन त्यो गेटभित्र मात्र लागू हुने रहेछन् ।

आज मलाई के भयो ? अचम्म मान्यौ होला । तर, मन थाम्नै सकिनँ । अरू बेला तिम्रो यादमा उत्साहसाथ उठ्ने कलम आज डरले कम्पित भई उठेको छ । आखिर तिमीलाई पनि त समाजले तल्लो जातको भन्छ । के रुकुमका भाइलाई जस्तै तिमीलाई पनि मेरा कारण ज्यानको खतरा नहोला ?

तिमी र मैले जीवनमा हिँडेका बाटा त उस्तै देख्छु । एउटै बाटो गफिँदै कलेज गइयो । कहिले लाइसेन्स नहुँदा ट्राफिकलाई झुक्याई स्कुटर कुदाइयो, कहिले माइतीघर मण्डलमा कुम जोडी उभिएर प्लेकार्ड बोकियो । ती सँगै हिँडेका बाटा, बोकेका प्लेकार्ड अनि हाँसेका ओठमा त जातको प्रश्न कतै सोधिएन । तर, के भोलि पनि एउटै बाटो हिँड्न सम्भव होला ? के तिम्रो र मेरो नाम विवाहको कार्डमा सँगै देख्दा समाजले नाक नखुम्च्याई स्विकार्ला ?

आजसम्म त साथ रहेकै छ । कहिलेकाहीँ मेरो घरमा पूजामा तिमी आउँदा हजुरबा–हजुरआमाले तिम्रो थर सोध्दा झुटो बोलेरै पनि दोस्ती जमेकै छ । ‘चिन्ता नगर न, मम्मी–बुबालाई त झुट बोल्नुपरेको छैन नि’ भन्दै तिमी आफैँ मलाई सम्झाउँथ्यौ । तर, तिमीलाई पूजाको टीका लगाइदिन हिचकिचाई दक्षिणा मात्र दिने मेरा मम्मी–बुबाले भोलि तिम्रो हातमा मेरो हात राखी टीकाटाला गरिदेलान् ?

 तिमी त पूर्वीय दर्शनका अनुयायी । जात कर्मका आधारमा विभाजन भएको मान्ने मान्छे । विभाजनको सभ्यता कर्मबाट जन्ममा फेरिनुलाई मैलो युग मान्थ्यौ । अनि, आज आएका नयाँ कानुन र समाज सुधारका व्यवस्थाले त्यो मैलो युगको अन्त्य गरेकोमा प्रफुल्लित थियौ । ‘मज्जाले पढ है, मलाई त मैलो युगले फाइदै गरेको छ, तिम्रो नाम ननिस्केला सरकारी जागिरमा’ भन्दै ठट्टा गथ्र्यौ । तर, आज समाज अझै त्यही मैलोमा लत्पतिएको देख्दै छु । तिमी दस्तावेजको दुनियाँबाट बाहिर आऊ न, कलेजको गेटबाहिर आएर त हेर, समाज सुधार र नयाँ कानुन त्यो गेटभित्र मात्र लागू हुने रहेछन् ।

‘पश्चिमाभन्दा हामी धेरै विकसित छौँ, उनीहरू ढुंगेयुगमै हुँदा हाम्रा पूर्वज पुष्पक विमानमा उड्थे’ भनी ठाउँ–ठाउँ धाक लगाउन छोड, तिमी ! किनकि, हाम्रो सभ्यता त्यही दिन पतन भएथ्यो, जब जन्मसँगै जात गाँसिन थालेथ्यो, जब वेद ब्राह्मणको पेवा भएथ्यो, जब विभेदको जरा भगवान्को भ्रममा गाँसिएथ्यो । त्यसपछि त हाम्रो अस्तित्व नै देखासिकी त हो । हामी पिछडिएका छौँ । जर्मनीमा निर्मूल भएको नाजीवाद हामी अझै अनुसरण गर्दै छौँ । कथित उच्च जातकाहरू आफूलाई जर्मनीका आर्यनझैँ ठान्छन् र आफ्नो वंशमा मिसावट भएको देख्न चाहन्नन् । हिटलरलाई मानवताविरोधी मान्ने तर आफ्ना छोराका लागि जात मिल्ने केटी खोज्दै हिँड्ने पनि मानवताविरोधी नै होइनन् र ?

तिमी भविष्यमा विश्वास गर्ने मान्छे । ‘भोलिको उज्यालोका निम्ति हिजोको दुःख, हिजोको अपमान बिर्सिसकेँ’ भन्छौ । अब समानताको युग आइसक्यो भनी ढुक्क हुन मलाई पनि मन छ । तर, हेर न, अझै यो समाजले हिजोका आधारमा भोलिको व्याख्या गर्दो रहेछ । एकपटक किताबको कानुनको व्यावहारिक कार्यान्वयन त हेर, हाल भइरहेका घटनाक्रम त हेर । अक्षरले जे बोले पनि यस समाजले तिमीलाई त्यही कान्छी कमिनीको नाति देख्दो रहेछ र मलाई त्यही जेठी मुखिनीकी नातिनी ।

कार्यान्वयन नै नभए कानुन बनाई आफू अग्रसर भएको स्वाङ पार्नु नै किन ? के ती कानुन बनाउने, अदालतमा जातीयताको अन्त्यमा फैसला गर्ने ठूलाठालुले आफ्ना छोरा–नातिका विवाह धुमधामसँग कुनै कान्छी कमिनीकी नातिनीसँग गरिदेलान् ? ती कन्यादानलाई पुण्यको काम मान्नेहरू आफ्ना छोरीचेलीको कुनै कान्छी कमिनीको नातिसँग विवाह गरिदिई ज्वाइँको खुट्टाको पानी खाई सन्तुष्ट होलान् ?

 हेर न, आज फेरि घटनाक्रम दोहोरिरहेछन् । यस्तो लाग्दै छ कि तिम्रो दाबीअनुसार अन्त्य भएको त्यो जातीय विभेदको अन्धकार युग खासमा नवौँ चिरञ्जीवी हो, जो कहिल्यै अन्त्य हुँदैन । यस्तो लाग्दै छ कि म त्यही मेरो गाउँकी शोभा दिदी हुँ, जसले १५ वर्षअघि तल्लो जातको केटासँग प्रेम गरेकी थिइन् । त्यही शोभा दिदी, जसले घरमा प्रेम गरेको भन्ने आँट गर्दा घरमै कैदी बनाइएकी थिइन् । जसोतसो भागेर प्रेमीसँग काठमाडौँ गएको आठ महिनासम्म पनि गाँउका काका, बडाबाउले खोजतलास गरेका थिए र उनलाई छुटाएर ल्याइएको थियो । त्यसपछि २० वर्षीया दिदीलाई ५५ वर्षीय पुरुषसँग विवाह गरिदिई कुलको इज्जत जोगाइएको थियो । उनको विवाहको भोज खासमा कुलको प्रतिष्ठा जोगिएको भोज थियो । अनि, उनका आँशु काका–बडाबाउका तोक्माझैँ भएथे । त्यस घटनापछि बेपत्ता भएका थिए, उनका प्रेमी । उनकी बूढी आमाका आँशुले पनि त्यस्तै तोक्माको काम गरे हुन् ।

तिम्रो सकारात्मक सोचाइले अनेक तर्कवितर्क गरिरहेछ होला । १५ वर्षमा त समाज धेरै शिक्षित भइसक्यो भनी तिमी मन बुझाउने प्रयत्न गर्दै छौ होला । तर, शिक्षित समाज पनि त आज आफ्नो छोराको तल्लो जातकी केटीसँग बसेको प्रेम छुटाउने तरखरमा छ, आफ्नी छोरीलाई सानै उमेरदेखि ‘जातीय विभेद नराम्रो हो, तर बिहे चाहिँ आफ्नै जातको केटासँग गर्नुपर्छ’ भन्ने पाठ सिकाउँदै छ । समाजका अगुवा र बुद्धिजीवी कहलिएकाहरू पनि त दिउँसो चोक–चोकमा समाज सुधारको व्याख्या गरे पनि राति घरमा छोराले झगडा गरी विवाह गरेकी तल्लो जातकी बुहारीले पस्केको भात खान मान्दैनन् ।

सुन न, आज यस्तो लाग्दै छ कि कलेजको विभेदबिनाको वातावरण, समाज सुधारका सिद्धान्त र समानताका दस्तावेज हाम्रा निम्ति पानीका फोका थिए, जसभित्र हाम्रोे प्रेम फस्टाएथ्यो । वर्तमानका घटनाक्रमले ती फोका फुटेको भान हुँदै छ । आज तिमी र म तिनै फोकाका फुटेका मुखमा सुकिला उभिएका छौँ, समाजको जातीयताको अन्धकारले हामीलाई घेरिरहेछ ।

तर, अहँ, मलाई फेरि शोभा दिदीका बल्लबल्ल सुकेका आँशु फेरि रुने मन छैन । तिम्रो सुन्दर व्यवहार र साथको भरोसा छ मलाई  । आऊ, आज तिमी र म मिली कानुनका दस्तावेजबाट बाहिर निस्केर समाजमा समानता खोजौँ । यसका लागि लडाइँ लडौँ । हाम्रो प्रेम त पानीको फोकामा फस्टाएथ्यो, हजुरआमा–हजुरबाका अगाडि बोलेका झुटमा मौलाएथ्यो । आऊ, हामी हाम्रा भाइछोरा, छोरीचेलीका निम्ति त्यस्ता झुट अनि क्षणभंगुर पानीका थोपा नचाहिने समाजको निर्माण गरौँ । आऊ, यही समाजमा म कथित ब्राह्मणकी छोरी र तिमी कथित शूद्रका छोरा धुमधामसँग विवाह गर्ने वातावरण बनाऔँ ।

तिमी र मैले यो लडाइँ शोभा दिदीको प्रतिनिधि भई लड्नु छ, नवराज विकको प्रतिनिधि भई लड्नु छ । आऊ, यो जातीय विभेदको अन्धकार युगलाई पूर्ण रूपमा अन्त्य गरौँ ।

तिम्री प्रेमिका
विजयालक्ष्मी

Comments

comments