गाउँमा एउटा चौतारो थियो । फराकिलो खुला जग्गा भएकाले त्यहाँ विभिन्न किसिमका रूखबिरुवा थिए । मानिस खासगरी गर्मी मौसममा वरपीपल आदि रूखको शीतल ताप्न पुग्थे । मानिस कहिले राजनीतिका, त कहिले समाजका, अनि कहिले प्रकृतिका कुरा गर्थे ।

चौतारोको ठीक पछाडि वरको पुरानो रूख पनि थियो । आसपासमा विभिन्न रूखबिरुवा र बुट्ट्यान थिए । त्यो रूखलाई आफू सबैभन्दा पुरानो भएकाले अभिभावक भएको महसुस हुन्थ्यो । सबैका गतिविधि हेथ्र्यो र मनमनै गम्थ्यो । अरूले भने बूढो भनेर खासै वास्ता गर्दैनथे । त्यस वरको छेवैमा एउटा बेलको बिरुवा उम्रिन सुरु गर्‍यो । आज भोलि गर्दै त्यो बिरुवा हलक्कै बढेर ठूलो देखियो । हेर्दाहेर्दै वरलाई आफूलाई जित्ला कि भन्ने लाग्यो ।

त्यो बेलको नयाँ बिरुवा तीन महिनामै हलक्क बढेर वरको रूखको आधासम्म पुग्यो । एक दिन बेलले वरसित सोध्यो–‘वृक्षराज ! तपाईंको आयु कति हो ?’ वर चुप लाग्यो । फेरि अर्को दिन बेलले त्यही प्रश्न सोध्यो । वरलाई बोल्न मन थिएन । अस्ति भर्खर जन्मिएको फुच्चे रूख मेरो उमेर सोध्ने ? भन्ने महसुस गर्‍यो । तर धेरै पटक सोधेपछि बाध्य भएर वरले जवाफ दियो– ‘तीन सय वर्ष ।’ वरको कुरा सुनेर बेल गज्जबले हाँस्यो ।

हाँस्दाहाँस्दै बेलले भन्यो– ‘मलाई हेर्नुस्, तीन महिनामै म यति अग्लो भएँ । तर तपाईं भने तीन सय वर्षसम्म पनि यति होचो हुनुहुन्छ ।’ आफ्नो गम्भीरता तोड्दै वरले भन्यो–‘मेरा बच्चा  ! तिमीले अहिलेसम्म आँधीहुरी, भेलबाढी केही थामेका छैनौं । तीन सय वर्षमा मैले तिमीजस्ता थुप्रै बेल र अरू सयौं बोटविरुवा देखें । जुन हरेक वर्षको आँधीहुरी वा भेलबाढीमा नामेट हुन्थे।’

नैतिक शिक्षा : पुरानासँग धेरै कुराको अनुभव हुन्छ । नयाँले जतिसुकै फुर्ति लगाए पनि त्यो कुरा काँचो हुन सक्छ । नयाँले घमण्ड गर्नुभन्दा पनि पाकोलाई सम्मान गर्नुमै कल्याण हुनेछ ।

Comments

comments