मकरमेला लाग्ने स्थान पद्मावती, लीलावती र रुद्रावती नदीको संगम मानिन्छ। गुप्त रूपमा बहने रुद्रावतीलाई कसैले नदेखे पनि यसको बहाउमा शंका गर्ने तीर्थालु भेटिँदैनन्।

सूर्यप्रसाद लाकोजू

जति हेरे पनि हेरिरहूँ जस्तो लाग्छ पनौती । इतिहासमा प्राचीनता, धर्ममा सहिष्णुता, कलामा सम्पन्नता, संस्कृतिमा विविधता र प्राकृतिक सौन्दर्यमा प्रचुरता बोकेर बसेको छ यो प्राचीन शहर । यो शहर कुनै दक्ष कालीगढले मेहनतपूर्वक कुँदेको वास्तुकलाको उत्कृष्ट नमुना जस्तो लाग्छ । यो शहर आफ्नो ऐतिहासिकतामा गर्व गर्छ । यसले आफ्नो पवित्रताको ख्यातिलाई सगरमाथा जत्तिकै उच्च बनाएको छ । देवताका राजा इन्द्रलाई समेत पापबाट मुक्ति दिलाएको यहाँको त्रिवेणी तीर्थस्थललाई आफ्नो पवित्रतामा घमण्ड छैन, गौरव छ ।

शचीतीर्थ नाम पाएर पनि मुक्तिधाम भनिएको छ यसलाई । पावनधाम कहलिएको यो त्रिवेणी तीर्थस्थलले आफ्नो ख्यातिलाई फराकिलो बनाउँदै लगेको छ । इतिहास पुरुष जयसिंह रामवद्र्धनको यो राज्यभूमिमा ऐतिहासिकता बाँचेको छ, उनले बनाएको कलात्मक र भव्य तोलानारायणको शिलामूर्तिसँगै । अनगिन्ती सम्पदाले पनौती सहरलाई खुल्ला सांस्कृतिक संग्रहालय भन्न सबैलाई बाध्य पारिरहेको जस्तो भान हुन्छ। यसभित्र इन्द्रेश्वर महादेव, उन्मक्त भैरव, तोलानारायण, सूर्यनारायण, बेनुधर कृष्ण, विश्वेश्वर, ब्रह्मायणी, वंशगोपाल, केदारनाथ, बद्रीनारायण, राम मन्दिरजस्ता मन्दिर शोभायमान बनी बसेका छन् ।

शिवको यो प्यारो भूमि धर्मभूमि हो, पवित्र तीर्थस्थल हो । पनौतीको इन्द्रेश्वर मन्दिरको प्राचीनतामा शंका गर्ने ठाउँ छैन। यसको बनावट र यसमा कुँदिएका कलाकृतिहरू आफैं यसको पौराणिकताका प्रमाणहरू हुन् । यहाँका मन्दिरमा कुँदिएका आकर्षक कलाकृतिहरू एवं सुन्दर बनावटका छन् । जसका कारण जो कसैको पनि मनलाई मन्दिरतर्फ चुम्बकले खिचे झैं खिच्छ । मन्दिरको कलात्मकताको रसास्वादन गर्न कसैका पनि आँखा र मन पछि पदैनन् । यहाँ जताततै रहेका धातुकला तथा काष्ठकलाको आकर्षण सबैमा समान छ । यहाँका अवर्णनीय र दर्शनीय सम्पदाहरूका कारण पनौतीले विश्वसम्पदा सूचीका लागि आफूलाई दाबेदारका रूपमा उभ्याएको छ । सतीदेवीको भाल अर्थात् निधार पतन भएर उत्पत्ति भएको भालेश्वर शिवलिंगको महिमा गाएर थाकिँदैन र सकिँदैन पनि । पनौतीकै माटोमा रहेका धनेश्वर महादेवको ख्याति सगरमाथाजस्तै चुलिएको छ ।

बौद्धमार्गीहरूको मनमनमा बाँचेको महामानव नमोबुद्धले यस नगरकै माटोमा पहिलोपल्ट आँखा खोलेका थिए । यसै राज्यका राजा महारथका कान्छा राजकुमारका रूपमा जन्मिएका महोत्सवले त्यागको अनुपम नमुना देखाएर नमोबुद्ध बने । मानिस भएर जन्मिएपछि आफ्ना लागि होइन, अरूका लागि बाँच्न सक्नुपर्छ । यही सन्देशको फूल फुलाए र त्यसको सुवास संसारमा फैलाए । पनौतीको त्रिवेणी तीर्थस्थलको जलको स्पर्शले मात्र पनि आफ्नो हृदयलाई पवित्र सम्झनेहरूको संख्या दिनानुदिन बढ्दैछ यतिबेला । राजा सुचन्द्रको कथासँग साइनो रहेको यःमरी पूर्णिमाको पर्व जन्माएर यहाँको धर्ती धन्य भएको छ ।

विश्वमै विरलै पाइने प्रकृति र संस्कृतिको संगमस्थलका रूपमा लिन सकिन्छ पनौतीलाई । भनिन्छ पनौती शहर एउटै शिलामा अवस्थित छ । विशाल ढुंगाका कारण यहाँ भूकम्पको असर देखिन्न। पर्यटन व्यवसायको प्रचुर सम्भावनालाई गर्भबाट विस्तारै बाहिर ल्याउँदै आफूलाई संसारमा चिनाउन उद्यत् छ पनौती । यसलाई १२ वर्षे मकर मेलाले होस्टेमा हैंसे गर्न सघाएको छ । यति मात्र कहाँ हो र ? किंवदन्तीहरूको घुम्टो ओढेर बसेको पनौती ज्ञानीका लागि ज्ञान हो, वैज्ञानिकका लागि विज्ञान हो । साहित्य, संस्कृति र प्रकृति बुझ्न चाहनेका लागि पनौती सिंगो पुस्तक हो ।

धार्मिक महत्त्वलाई कुञ्जगिरी पर्वत जतिकै उच्च बनाएको पनौतीप्रति धर्ममा आस्था राख्नेहरू पावनधाम मान्दछन् । श्रद्धाको फूल फुलाउँदै पनौतीको त्रिवेणीधाम आउँछन् अनि पखाल्छन् अन्जानमा गरेका पाप । तीर्थालु त्रिवेणीलाई पवित्र मान्छन् र झुक्छन्, श्रद्धाले । वंशगोपाल मन्दिरदेखि मच्छेनारायणको देवालयसम्म स्नान क्षेत्रदेखि दक्षिणतिर लहरै देवदेवीहरू मुस्कुराइरहेको आभास मिल्छ । उत्तरतर्फ कुञ्जगिरी पर्वतको काखमा यातादेवी विराजमान छिन् । देवदेवीबीच स्नान गरेर अथाह पुण्य आर्जन गरेको आत्मसन्तुष्टि लिएर फर्कन्छन् तीर्थालु । बाह्र वर्षको एकपल्ट माघ महिनाभर लाग्ने मकरमेलाको उपादेयता विशेष रहन्छ ।

पनौतीको त्रिवेणीलाई शचीतीर्थ अर्थात् उत्तरप्रयाग मानेर हरेक बाह्रवर्षको एकपल्ट मकरमेला लाग्दा लाखौंको संख्यामा मेला भर्न भक्तजन ओइरिन्छन् । विश्वव्यापी महामारी कोरोना संक्रमणले भने यस पटक यो मेला अलिकति ओझेलमा परेको छ । यद्यपि यस स्थलमा पाईला मात्र टेक्दा पनि मोक्ष पाइने जनविश्वासले मानिसको आगमन निरन्तर छ । मकरमेला भर्न देशका मात्र होइन, छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन ठूलो संख्यामा आएर मेला भरेको विगत साक्षी छ । मकरमेला लाग्ने स्थान पद्मावती, लीलावती र रुद्रावती नदीको संगम मानिन्छ । गुप्त रूपमा बहने रुद्रावतीलाई कसैले नदेखे पनि यसको बहाउमा शंका गर्ने तीर्थालु भेटिँदैनन् । धार्मिक आस्थाले सायद मानिसलाई जीवन्त राख्न, कर्तव्यपरायणको पाठ सिकाउन, नैतिकवान बन्न बुटीको काम  गर्दो हो । यही आस्थाकै कारण त्रिवेणीमा नुहाई यहाँका देवीदेवताको आराधनामा आफूलाई लिन बनाउँछन् ।

देवताका राजा इन्द्र, शची, विरुपाक्ष जस्ता देवताले समेत यस त्रिवेणी संगममा आई मोक्ष प्राप्त गरेका थिए भन्ने जनश्रुति जनजिब्रोमा छ । त्रिवेणीमा स्नान गरी यहाँ रहेका देवदेवीको दर्शन गर्नाले ठूलो पुण्य कमाइने जनविश्वास छ । पनौतीको त्रिवेणीघाटसँगै कुञ्जगिरी पर्वत छ जहाँ गोरखनाथ विराजमान छन् । त्रिवेणीघाटमा नुहाई पूजाअर्चना गरेपछि डाँडा चढ्न सक्नेहरू त्यहाँ गई गोरखनाथको दर्शन गर्छन् । इन्द्रेश्वर महादेव मकरमेलाको अर्को महत्त्वपूर्ण पाटो हो । मकरस्नान गरिसकेपछि यहाँ आएर इन्द्रेश्वर महादेवको दर्शन गर्ने प्रचलन पनि पुरानो हो । किंवदन्तीहरूले भरिएको पनौतीमा मकरमेला सम्बन्धी रोचक किंवदन्ती प्रचलित छ ।

यही महादेवको तपस्या गरेर देवताका राजा इन्द्र आफूले गरेको पापकर्मबाट मोक्ष पाएको किंवदन्ती पनि छ । देवताका राजा भएर पनि आफ्नो कामेच्छामाथि नियन्त्रण गर्न नसकी गौतम ऋषिकी पत्नी अहिल्यासँग छलपूर्वक यौनकर्म गरेका कारण गौतम ऋषिबाट श्राप पाए । त्यसपछि इन्द्र यहीं आएर मोक्ष पाएको हुनाले त्यही बेलादेखि मकरमेला लाग्दै आएको कुरा हिमवतखण्डमा उल्लेख छ ।

Comments

comments