चिनीयाँ, जापानिज र कोरियनहरूले चलाएको लिपि आधारभुतरुपमा फाउण्डेसन एउटै हो तर चीनले चिनीयाँ लिपि (हान्जी), जापानले जापानिज (कान्जी) र कोरियनहरूले कोरियन (हान्जा) लिपिकै रुपमा बर्णन गर्दछन् । यो पनि हाम्रो सन्दर्भमा सम्भव कुरा नै हो ।

नन्द कन्दङ्वा

लिपि परिचय

लिपि भनेको समाजमा बोलिने या बोलिएको भाषालाई चित्रात्मक (Symbolic) हिसाबले प्रस्तुत गर्ने र दृश्यबाट सो भाषालाई बुझ्ने कलात्मक माध्यम हो । यसको अर्थ सबैजसो लिपिहरू भाषालाई प्रतिनिधित्व गर्दै भाषाको आधारमा विकास गरिएका छन् । यस्ता लिपिहररू संसारमा अनगिन्ती रहेका छन् । ती लिपिहरूले निश्चित भाषालाई प्रतिनिधित्व गर्दछन् ।

विश्वमा हरेक भाषाको आफ्नै विशेषता र चरित्रहरू छन् । उदाहरणका लागि तामाङ भाषामा आकार लागेर शब्दहरू बन्ने गरेका छन् । उक्त भाषामा म¥यो नभनेर मा¥यो भनेर उच्चरण हुन्छ । यसको अर्थ त्यहा अकार ध्वनी पाउन गाह्रो छ भन्ने देखिन्छ । यसैले, तामाङ भाषालाई प्रतिविधित्व गर्न या समात्न लिपिको विकास पनि त्यसरी नै हुन्छ । देवनागरी लिपिको क, ख, ग जस्ता अकार ध्वनी भएका लिपि संकेतहरूले उक्त भाषालाई समात्न सक्दैन । संसारकै लिपिहरु त्यसरी नै भाषाको विशेषता र चरित्रको आधारमा विकास भएका छन् ।

विश्वमा लिपिको शुरुवात चित्रात्मक लिपि (Pictographic wrtiting) बाट शुरु भयो । चित्रात्मक लिपिको समय लगभग ६ हजार वर्ष पुरानो मान्ने गरिएको छ । त्यसपछि संकेतात्मक लिपि (Ideographic writing) को विकास भयो । त्यसपछि ध्वनिआत्मक लिपि (Phonetic writing) को विकास भयो र त्यसपछि वर्णात्मक लिपि (Symbolic or Alphabetic writing) को विकास भयो । यिनै विभिन्न प्रकारका लिपिहरूलाई भ्रुण लिपि, किलाक्षर लिपि, माहिरोग्याफिक्स, हिरेटेकि, डेमोटिक, कप्टीक, अरेविक हुदै सिनायटिक लिपिहरूमा विभाजन गरियो । युरोपमा विभिन्न लिपिहरूको विकास भए भने एशियाको अन्य भाग, अफ्रिकालगायत विश्वका विभिन्न भागमा विभिन्न खाले लिपिहरूको विकास भयो ।

भारतीय उपमहाद्वीपमा भने खरोष्टी, ब्राह्मी, गुप्त, कुटिल, शारदा, टाकरी, बंगला, पश्चिमी, मध्य प्रदेशी, तेलुगु–कन्नाडा, ग्रन्थ, कलिंग, तामिल, कैथि, मैथिल, उडिया, गुजराती, मौडी, मलयालम, तुलु, गुरमुखी, सिन्धी, उर्दु इत्यादि लिपिहरू विकास भए । भारतीय उपमहाद्वीपका सबै लिपिहरू खरोष्टी र ब्राह्मी लिपिको प्रभाव र तिनका आधारमा विकास भएको मानिन्छ । कतिपयले ब्राह्मी लिपिको विकास ईसा पुर्व ७ – ८ औँ शताब्दीमा विकास भयो होला भनेर अनुमान गरेका छन् ।

भारतिय उपमहाद्वीपमा लिपिको विकासको क्रम

भारतीय उपमहाद्वीपमा लिपि विकासको क्रमलाई हेर्दा खरोष्टी लिपि कहिले विकास भयो भन्ने थाहा नभए पनि यो लिपि ईसा पुर्व तेस्रो शताव्दीमा लोप भयो र त्यसको स्थान ब्राह्मी लिपिले लियो । ब्राह्मी लिपिको निर्माणको समय पनि थाहा छैन तर धेरै विद्धानहरूले यो लिपि फोनेसियन लिपिबाट विकास भयो भन्ने विश्वास गर्दछन् । कतिपय विद्धानहरूले ब्राह्मी लिपिको विकास ईसा पुर्व ७ – ८ औँ शताब्दीमा भयो होला भनेर अनुमान गरेका छन् । त्यसपछि गुप्त लिपि उत्तरी भारतमा ईस्वीको ४ – ५ औँ शताब्दीमा अस्तित्वमा आयो र प्रचलित भयो ।

वास्तवमा यो लिपि बुद्धगयाको गुफा र सांचीको अभिलेखमा प्रयोग भएको लिपिलाई ईतिहासकार तथा विद्धानहरूले गुप्तकालको लिपि भनि गुप्त लिपि नाम दिएका हुन् । ब्राह्मी लिपिबाट नै थोरै फरक बिशेषताको आधारमा प्रयोग भएको लिपिलाई गुप्त लिपि भनिएको हो । त्यसपछि विभिन्न भाषालाई अनुकुल हुने विभिन्न लिपिहरू बन्न थाले र आ–आफ्नो डोमेनमा प्रचलित हुन थालेको देखिन्छ । त्यसपछि,

  • ब्राह्मी लिपिबाट उत्तर भारतमा ईस्वीको ६ – ९ औँ शताब्दीमा कुटिल लिपिको बिकास भयो र प्रचलनमा आयो भने पश्चिमी लिपि ईस्वीको ५ – ९ औँ शताब्दीमा विकास भयो । यसैगरि मध्य प्रदेशी लिपि पनि ५ – ९ औँ शताब्दीमा विकास भयो ।
  • ब्राह्मी लिपिबाट ९ औ शताब्दीमा देवनागरी लिपिको विकास भयो र प्रचलनमा आयो ।
  • ईस्वीको ९ – १० औँ शताब्दीमा मोरवी (काठियावाड) लिपिको विकास भयो ।
  • ब्राह्मी र कुटिल लिपिबाट ईस्वीको १० औँ शताब्दीमा शारदा लिपिको विकास भई प्रचलनमा आयो । यसै शारदा लिपिबाट टाकरी लिपिको विकास भयो ।
  • देवनागरी लिपिबाट ईस्वीको ११ औँ शताब्दीमा बंगला लिपिको विकास भयो ।
  • ब्राह्मीबाट ५ औँ शताब्दीमा तेलुगु लिपि विकास भयो ।
  • ब्राह्मीबाट ७ औँ शताब्दीमा ग्रन्थ लिपि विकास भयो । यसैगरि,
  • ७ – १० औँ शताब्दीमा कलिंग लिपिको विकास भयो भने यही ग्रन्थ र ब्राह्मी लिपिबाट तामिल लिपिको विकास भयो । यहि ग्रन्थ लिपिबाट मलायलम र तुलु लिपिको विकास भयो ।
  • ब्राह्मी लिपिबाट १२ – १३ औँ शताब्दीमा कैथी लिपिको विकास भयो ।
  • बंगला लिपिबाट ११ औँ शताब्दीपछि मैथिल लिपिको विकास भयो । यही बंगला लिपिबाट उडिया लिपिको विकास भयो ।
  • ब्राह्मीबाट गुजराती लिपि विकास भएको मानिएको छ । यसैगरि, नागरिक लिपिबाट मौडी लिपिको विकास भयो ।
  • शारदा लिपिबाट १६ औँ शताब्दीमा गुरमुखी लिपि विकास भएको मानिन्छ । अरवी लिपिबाट प्रभावित भएर १० औँ शताब्दीमा सिन्धी लिपि र १२ – १३ औँ शताब्दीमा उर्दु लिपि विकास भयो । भारतीय उपमहाद्वीपमा लिपिहरूको विकास क्रमलाई हेर्दा ईसापुर्व ७ – ८ औँ शताब्दीदेखि एकको सिको अर्कोले गर्दै ईस्वीको १६ औँ शताब्दीसम्म लिपिहरूको विकास भएको देखिन्छ । यसले के देखाउँछ भने लिपिको आविष्कार स्वतन्त्ररुपमा भएको होइन । हरेक लिपि अर्को लिपिलाई हेरेर आफ्नो भाषा अनुकुल विकास गरेको देखिन्छ ।

तिव्वत, बर्मा, थाईल्याण्ड र कम्बोडियामा लिपि विकास क्रम

भारतीय उपमहाद्वीपका लिपिदेखि बाहेक तिब्बती लिपि ७ औँ शताब्दीमा विकास भयो । यो लिपिमा पनि ब्राह्मी लिपि र गुप्त लिपिकै प्रभाव देखिन्छ । यसैगरि बर्माको लिपि ८ औँ शताब्दीमा विकास भयो, जसमा तेलुगु कन्नाडी लिपिको प्रभाव देखिन्छ । बर्माको मेकङ क्षेत्रमा प्रयोग हुने मोसो लिपि १३ औँ शताव्दीमा विकास भएको मानिन्छ । थाईलैण्डको थाई लिपि चिनीयाँ लिपिको प्रभाव स्वरुप ७ औँ शताव्दीमा विकास भयो भने त्यसमा तेलुगु कन्नाडीको प्रभाव पनि देखिन्छ । वर्तमान थाई लिपि भने १० औँ शताब्दीमा विकास भएको थियो । कम्बोज लिपिको जन्म १२ औँ शताव्दीमा भएको मानिन्छ । जावाको लिपि पनि पछिल्लो काल १५ औँ शताब्दीमा विकास भएको भन्ने मत रहेको छ ।

लिम्बु समुदायमा लिपि सम्बन्धमा असमझदारी

यतिखेर लिम्बु समुदायमा लिम्बु भाषालाई प्रतिनिधित्व गर्ने लिपिलाई के नामले सम्बोधन गर्ने भन्ने सम्बन्धमा असमझदारी देखिएका छन् । कसैले यो सिरिजङ्गा पहिलोले विकास गरेको र सिरिजंगा दोस्रोले प्रचलनमा ल्याएकोले यस लिपिको नाम सिरिजङ्गा लिपि भनिनुपर्ने त केहीले याक्थुङ लिपि त केहीले किराँत लिपि, किरात सिरिजङ्गा लिपि भनिनुपर्ने राय व्यक्त गरेका छन् ।

यो लिपि अठारौँ शताब्दीमा सिरिजङ्ग सिंह थेबेले ओढारमा विकास गरेर प्रचारप्रसार गरि प्रचलनमा ल्याए पनि यसको निर्माण तथा विकासबारे मतभेदहरु रहेका छन् । यो लिपि करिव नवौँ – दशौँ शताब्दीतिर सिरिजङ्गा पहिलो भन्ने राजाले निर्माण गरेका हुन् भन्ने एकथरीको मत रहेको छ । कसैकसैले यो सिरीजंग अरु कोही नभएर सातौँ शताब्दीका तिब्बतका राजा श्रङचङगम्पो हुन् । उनैले विकास गरेको लिपिलाई अठारौँ शताब्दीमा सिरीजंग सिं थेबेले लिम्बु भाषाको अनुकुल हुनेगरि परिवर्तन र परिमार्जन गरेर प्रचार प्रसार गरेका हुन भन्ने मत रहेको छ ।

भारतीय उपमहाद्वीप र तिब्बत तथा बर्मादेखि कम्बोडियासम्मको लिपि विकासको क्रमलाई हेर्दा सिरिजङ्गा या किराँत सिरिजङ्गा लिपि पनि स्वतन्त्ररुपले विकास भएको लिपि होइन भन्ने स्पष्ट देखिन्छ । सिरिजंग सिंह थेबेले प्रचारप्रसार गरेको २० वटा वर्णमा आकार ध्वनि सिम्बल देखिए पनि हालको लिपिमा आकार ध्वनिलाई प्रतिनिधित्व गर्ने ध्वनि चिन्ह या सिम्बल छैन । सिरिजंग सिंह थेबे पनि त्यही अकार ध्वनि भएको सिम्बललाई आकार लगाएर आकार ध्वनि पढ्दा का, खा, …. भन्ने मात्र रहेको देखिन्छ ।

एउटै सिम्बलले आकार ध्वनि प्रतिनिधित्व गरेको देखिन्न । पछिल्लो सिरिजङ्गा लिपिमा देवनागरी लिपि तथा ब्राह्मी लिपिकै अकार ध्वनी क, ख, ग, …. आदिलाई प्रतिनिधित्व गर्ने ध्वनि चिन्ह रहेका छन् । तिब्बत – बर्मी भाषा परिवारमा अकार ध्वनि कम पाइएजस्तै लिम्बु भाषामा पनि अकार ध्वनि पाउन गाह्रो छ । भाषाविदहरूका अनुसार लिम्बु भाषामा प्रायः आकार ध्वनि नै पाइन्छ । यीसहित अन्य धेरै कुराले यो लिपि अन्य लिपिमा आधारित लिपि हो भन्ने स्पष्ट हुन्छ । रह्यो कहिले विकास भयो होला भन्ने प्रश्न ?

यो लिपि १० – ११ औँ शताब्दी पछि नै विकास भयो होला भन्ने कुरा २ ओटा आधारमा भन्न सकिन्छ । पहिलो हो, यो अठारौँ शताब्दीभन्दा अघि कहिँकतै प्रचलन र अस्तित्वमा रहेको देखिन्न । लिम्बुवानको ईतिहासमा आठ राय र दश लिम्बुको ईतिहास आउँछ । ती आठ राय र दश लिम्बु (थिबोङ याक्थुङ) हरूले उनीहरूको राज्यमा कुनै लिपि र लिखत प्रयोग गरेको ईतिहास आउँदैन । बरु विजयपुर राज्यले मैथिल भाषा प्रयोग गरेको लिखतहरूले देखाउँछ । त्यसमा लिपि देवनागरी नै प्रयोग भएको पाइन्छ । दोस्रो हो, मुन्धुममा पनि लिपि भएको र प्रयोग गरेको कुरा आउँदैन । यदी नवौँदेखि १३ – १४ औँ शताब्दीमा यो लिपि अस्तित्वमा भएको भए त्यस बेला विकास भएका मुन्धुममा कहीँ न कहीँ आउनु पर्दथियो । कतिपयले यो लिपिलाई नवौँ शताब्दीमा पहिलो सिरिजङ्गाले विकास गरेको लिपि भन्ने गर्दछन् । यो भनाइलाई पुष्टी गर्न माथि भनिएको २ ओटा आधारमा पुष्टी गर्नुपर्ने हुन्छ भने सिरिजङ्गा भन्ने व्यक्ति या राजा थिए भनेर भन्ने आधार पनि स्पष्ट गर्नुपर्ने हुन्छ ।

कतिपयले मुन्धुममा ताङगेरा निङवाफुमाङले हरिणको छालामा मन्त्र लेखेर दिएको वर्णन आउँछ भन्ने कुरा गर्दछन् । त्यसैले लिपि थियो भन्ने कुरामा जोड दिन्छन् । यसले सृष्टिकालमै लिपि थियो भन्ने देखाउँछ जुन सम्भव होइन । चीनको चित्रात्मक लिपि नै ईसापुर्व ६००० वर्षतिरको हो भने पछि त्योभन्दा अघि मानिससँग लिपि हुनै कुरै भएन, हुँदैन । कथा त कसैले कहिँकतै जोड्न सक्छन् तर बैज्ञानिक हिसावले ती कुरा सावित हुँदैनन् । रह्यो कुरा के नाम दिने या यो लिपिलाई सिरिजङ्गा लिपि या किरात सिरिजङ्गा लिपि के भन्ने प्रश्न ?

सिरिजङ्गा या लिम्बु या किरात या किरात सिरिजङ्गा लिपि

३२ – ३४ पुस्तासम्मका किराँत राजाहरूको पुस्ता हिसाव र सम्बत १०७ (ईस्वी १८५) को जय बर्माको अभिलेखको आधारमा नेपालमा किराँतकाल ईसापुर्व ९ – १० औँ शताब्दीदेखि ईस्वीको पहिलो शताब्दीसम्म हो भन्ने अनुमान गर्न सकिन्छ । बौद्ध ग्रन्थ ललितविस्तरमा किराँतहरूको लिपि भएको कुरा उल्लेख भएको पाइन्छ । लिपि विकासको ईतिहासले उक्त किराँतकाल (ईसापुर्व ९ – १० औँ शताब्दीदेखि ईस्वीको पहिलो शताब्दीसम्म) मा भारतीय उपमहाद्वीपमा ब्राह्मी लिपिबाहेक अन्य लिपि थिएन । किराँतकालमा किराँतीहरूले लिपि प्रयोग गरेको अभिलेख पाइएको छैन । किराँतकाल लगत्तै पछि लिच्छवीहरूले लिच्छवी लिपि प्रयोगमा ल्याएका थिए । नेपालमा यो लिपिको प्रयोग ईस्वीको पहिलो – दोस्रो शताब्दीबाट नै भएको थियो भन्ने कुरा जयबर्माको सम्बत १०७ (ईस्वी १८५) को हाडीगाउँमा सोही लिपिमा पाइएको ढुङ्गे अभिलेखबाट थाहा लाग्छ । शायद यही लिपिलाई बौद्ध ग्रन्थ ललितविस्तरमा किराँत लिपि भनेको हुन सक्छ ।

ईतिहासकार तथा लिपि विज्ञहरूको विचारमा गुप्त लिपि नै लिच्छवी लिपि हो भन्ने रहेको छ । सम्राट अशोकले लुम्बीनी तथा कर्नाटक लगायत धेरै ठाउमा राखेका शिला स्तम्भहरूमा लेखिएको अभिलेखहरू ब्राह्मी लिपिमा रहेको छ । सम्राट अशोकको समय ईसापुर्व २६८ देखी २३२ (तेस्रो शताब्दी) हो । सोही लिपि केही परिष्करणसहित नेपालका लिच्छवीहरूले प्रयोग गरेका हुन् भन्ने देखिन्छ । आधारभुतरुपमा ती लिपिहरू ब्राह्मी लिपि नै भए पनि थप विशेषताको आधारमा गुप्त, लिच्छवी तथा अन्य विभिन्न नामका लिपि भनि नामाकरण भएको देखिन्छ ।
लिपि विकासको ट्रेण्ड र लिपिको नामाकरण सम्बन्धित भाषालाई अनुकुल हुनेगरि थप विशेषतासहित परिमार्जन गरेको आधारमा नामाकरण गरेको देखिन्छ ।

यसरी हेर्दा, सिरिजङ्गा लिपि या किराँत सिरिजङ्गा या किरात लिपि भनि बहस तथा विवाद गर्नुको धेरै अर्थ छैन । १८ औँ शताब्दीमै भए पनि सिरिजङ्ग सिंह थेबेले तिब्बतियन र ब्राह्मी तथा गुप्त लिपिको आधारमा लिम्बु भाषालाई अनुकुल हुनेगरि केही परिवर्तनसहित एक लिपि अस्तित्वमा ल्याएको र प्रचारप्रसार गरेको देखिएकोले उनैको नामबाट सिरिजङ्गा लिपि भन्नु उपयुक्त नै हुन्छ । यस लिपिको प्रयोग अन्य सबैले गर्ने र विस्तार हुने अर्थमा किराँत सिरिजङ्गा लिपि भने पनि खास फरक पर्छ भन्ने देखिन्न । थप भएका लिपि या वर्ण लिम्बूको लागि अर्थ रहन्न । जस्तै लिम्बू भाषा प्रयोगमा ट, ट, ड, ढ र ण हुँदैन जुन सिरिजङ्गा लिपिमा छैन पनि । तर अन्यलाई आवश्यक पर्ने वर्णहरु थप गरेर प्रयोग गर्न सक्छन् ।

लिम्बूले पुरानै वर्णमाला चलाउँछ, त्यसैमा विकास गर्छ र सिरिजङ्गा लिपि नै भन्छ । वर्णहरू थप गरि प्रयोग गर्नेहरूले किराँत सिरिजङ्गा लिपि भन्न सक्छन् । हामीले धेरै संकुचित दायराबाट सोच्नु पनि हुन्न । सिरिजङ्गाले विकास गरेको लिपिलाई आधार मानेर अन्य आवश्यक वर्ण थप गरि बनाएको लिपिलाई किराँत लिपि मात्र भन्न भने अलिक मिल्दैन । कहीँ न कहीँ सिरिजङ्गा त राख्नै पर्ने हुन्छ ।

लिपि भन्ने कुरा कसैको पेवा पनि हुन्न । लिपि नहुनेहरूले जसरी देवनागरी लिपि प्रयोग गरेका छन् त्यसरी नै सिरिजङ्गा लिपि पनि लिपि नहुनेहररूले स्विकार्य हुने उपयुक्त नाम राखी प्रयोग गर्दै व्यापक बनाउनेतिर नै सोच्नु राम्रो हुन्छ । चिनीयाँ, जापानिज र कोरियनहरूले चलाएको लिपि आधारभुतरुपमा फाउण्डेसन एउटै हो तर चीनले चिनीयाँ लिपि (हान्जी), जापानले जापानिज (कान्जी) र कोरियनहरूले कोरियन (हान्जा) लिपिकै रुपमा बर्णन गर्दछन् । यो पनि हाम्रो सन्दर्भमा सम्भव कुरा नै हो ।

Comments

comments