बुङ्कोटको शहीद स्मारक।

राणाशासन विरुद्ध पहिलो पटक विद्रोह छेडेका लखन थापालाई ढिलै भए पनि ‘पहिलो शहीद’ को दर्जा दिइयो, तर एउटै विद्रोहमा उसै गरी ज्यान गुमाएका अन्य ६ जनालाई राज्यले चिनेन। 

उमेश राना ‘गोर्खाली’

कोत र भण्डारखालपर्वको नरसंहारपछि जङ्गबहादुर राणाको शक्ति यति चुलियो कि सुरेन्द्रवीरविक्रम शाह नाम मात्रका राजा भए। राज्यका महत्त्वपूर्ण ओहदा र जिम्मेवारी राणा परिवारमै सीमित पारिए। जङ्गबहादुरको अधिनायकवाद सामु सबै निरीह थिए। इतिहासकार प्रमोदशमशेर राणाका अनुसार, ‘आफ्नै नजिकका कुँवर राणाजीहरू बाहेक अरू सर्वसाधारणलाई जतिसुकै राम्रो काम गरे पनि जङ्गीतर्फ कमान्डिङ कर्णेलभन्दा माथिको पद नदिने व्यवस्था गरिएको थियो’ (राणाशासनको वृत्तान्त, २०७० पृ.८३)। राणा परिवारभन्दा बाहेकलाई योग्य नै भए पनि अवसर नदिइँदा भित्रभित्रै असन्तुष्टि सल्किंदै थियो।

जंगबहादुरले नै विसं १९१० मा मुलुकी ऐन मार्फत जाति–व्यवस्था झन् कडा बनाएपछि परापूर्वदेखि नङमासु झैं मिलेर बसेकाहरू तागाधारी, मतवाली अनि पानी चल्ने–नचल्ने वर्गमा विभाजित भए। ऐन नमान्ने, छुवाछूत र भेदभाव नगर्नेहरू राज्यबाट दण्डित हुन्थे। समाजमा जातीय उँचनीचको भावना अझ फैलिंदै गयो। यस्ता कुराको विरोध गर्नु राणाहरूको विरोध गर्नु थियो। तर, उनीहरूको दबदबा यति थियो कि ‘कालको औषधि छैन, हुकुमको जवाफ छैन’ भन्ने आहान नै चलेको थियो। त्यस्तो अवस्थामा जंगबहादुरको निरंकुशता विरुद्ध उभिएका थिए– लखन थापा। सामाजिक विकृति–विसङ्गतिलाई जरैदेखि निर्मूल गर्ने अठोट सहित जनतालाई राणा शासन विरुद्ध गोलबन्द गरेका उनी रखाल वंशका मगर थिए।

गोरखाको बुङ्कोटस्थित काहुलेभङ्गारमा फौजी परिवारमा जन्मिएका लखन ‘पुरानो गोरख’ पल्टनमा बहाल थिए। शारीरिक रूपले केही होचा भए पनि यिनी बुद्धिमा तीक्ष्ण, रणकौशलमा निपुण थिए। अनि परिस्थिति अनुसार सही कदम चाल्ने सामर्थ्य राख्थे। यही क्षमताले गर्दा उनी सैन्य अधिकृत भएर युवराज त्रैलोक्यविक्रमका आठपहरिया (अङ्गरक्षक)मा खटिएको नेपालको सैनिक इतिहास भाग–२ (२०६५, पृ.३६४)मा उल्लेख छ। दरबारमा रहँदा यिनले त्यहाँको भित्री माहोल र राणाका अत्याचार राम्ररी नियाल्न पाए।

थिचोमिचो बढ्दै गएपछि लखनले एकतन्त्रीय शासन विरुद्ध सर्वसाधारणलाई जागरुक र सङ्गठित बनाउने योजना बुने। त्यसैले  १९२७ सालमा जागीर छाडेर गाउँलेहरूलाई समेटी जोसमनी सम्प्रदाय गठन गरे। यो गोरखामै उत्पन्न नेपालकै पुरानो सन्त परम्परा हो, जसमा राजा–प्रजालाई समान दृष्टिले हेरिन्छ।

लखन धर्मका विरोधी थिएनन्, तर धर्मको आडमा भित्र्याइएका जातीय भेदभाव, छुवाछूत र वर्णव्यवस्थाको घोर विरोध गर्थे। मूर्तिपूजा र कर्मकाण्डलाई ठगीखाने धन्दा भन्थे। जोसमनीको यही दर्शन र विचारले सर्वसाधारणलाई आकर्षित गर्‍यो।

विद्रोहको रणनीति

दैवी चमत्कारमा विश्वास गर्ने समाज थियो, त्यो। लखनले स्थानीय बासिन्दालाई राणा विरोधी योजनामा सामेल गराउन त्यस्तै आस्थालाई उपयोग गरे। उनी आफूलाई रामशाहकालीन लखन थापा (सिद्धपुरुष)को अवतार भन्दै मनकामना माईबाट जङ्गबहादुरको अन्त्य गरी देशको शासनसत्ता लिन आदेश पाएको बताउँथे।

लखनका अनुयायीले बुङ्कोटमा युद्धगढी बनाए, जो बलियो किल्ला जस्तै थियो। युवालाई सैन्य तालिम दिई १५ सय लडाकूको फौज बनाइयो। राणा विरोधी आन्दोलनलाई सघाउन असङ्ख्य मानिस घरेलु हातहतियार सहित भेला हुन थाले। त्यसपछि लखनले ‘नेपाली सेनाको नेतृत्व गर्ने, राजधानी प्रवेश गर्ने, जङ्गबहादुरको हत्या गरेर सरकार अधीनमा लिने र त्यसै दिनदेखि नेपाली इतिहासको स्वर्णयुग आरम्भ गर्ने’ घोषणा गरे। यो तथ्य जङ्गबहादुरकै छोरा पद्मजङ्गले जङ्गबहादुरको जीवनयात्रा (२०७४, पृ.२८४) मा लेखेका छन्।

लुकेछिपेका प्रतिभाहरूमा पुरुषोत्तमशमशेर राणाले लेखे अनुसार १९३२ माघमा बेलायतका युवराज अल्बर्ट एडवर्ड (महारानी भिक्टोरियाका जेठा छोरा, प्रिन्स अफ वेल्स) वनवासाको जङ्गल (नेपालको पश्चिमी सीमा)मा शिकार खेल्न आउँदा जङ्गबहादुर स्वागतार्थ पुगेका थिए। त्यहाँबाट १९३२ चैतमा काठमाडौं फर्कन लागेका जङ्गबहादुरको देउराली (गोरखाको दक्षिणी भेग)मा हत्या गर्ने योजना विद्रोहीले बुनेका थिए। यो सूचना पाएपछि उनी अर्कै बाटो गए (२०६८, पृ.२७)। यो लक्ष्य पूरा हुन्थ्यो त लखनको टोली जङ्गबहादुरको सेनालाई आफूसँग मिलाई राजधानीतर्फ बढ्ने सोचमा थियो। तर, योजना विफल भएपछि उनीहरू रित्तै बुङ्कोट फर्के। यता विद्रोही किल्ला रुँगेर बसेका लडाकु सरकारी सेनाको कब्जामा परिसकेका थिए।

१८ चैत १९३२ काठमाडौं फर्केका जङ्गबहादुरले देवीदत्त पल्टनका सैनिकलाई तुरुन्त बुङ्कोट खटाए। लखन सहितका लडाकूहरूले सरकारी सेनाको कडा प्रतिरोध गरे। तर, सीमित हतियारको भरमा रहेका उनीहरू पक्राउ परिहाले। आन्दोलनमा खुलेर लागेका १२ जना बाहेक अरूलाई उन्मुक्ति दिइयो। विद्रोहका नाइके लखनलाई नेल–हत्कडी सहित बाँसको पिंजडामा थुनेर र अन्यलाई पैदलै हिंडाएर थापाथली दरबार पुर्‍याइएको प्रमोदशमशेरले (उही,पृ.८८) उल्लेख गरेका छन्।

त्यति वेलाका जोसमनी विचारधाराका प्रखर सन्त ज्ञान दिलदास (लामिछाने ब्राह्मण)लाई रुम्जाटारबाट पक्राउ गरियो। उनलाई जमलमा ६ महीना थुनामा राखी विद्रोहीसँगको सम्बन्ध खोजीनिती भयो। तर, ज्ञान दिलदास निर्दोष ठहरिएकाले छाडिए। जनकलाल शर्माको जोसमनी सन्त परम्परा र साहित्य (२०५२, पृ.६४–६५)मा यसको विस्तृत चर्चा छ। नौ महीनादेखि बन्दीगृहमा चरम यातना भोगिरहेका बुङ्कोटेहरूको मुद्दा बल्लतल्ल छिनियो। उनीहरूमध्ये साधारण समर्थक ठहरिएका पाँच जनाले माफी पाए। बाँकी सात जनालाई राजद्रोही ठहर्‍याइयो। यथार्थमा तिनीहरू देशद्रोही थिएनन्, जङ्गबहादुरका कट्टर विरोधी थिए।
तत्कालीन दस्तावेज

तत्कालीन विद्रोहमा प्रयोग भएको हतियार

महेशचन्द्र रेग्मीद्वारा सम्पादित रेग्मी रिसर्च सेरिज (वर्ष १२, अंक ५, १९८०, पृ.७४–७५)मा उल्लिखित १९३२ चैत्र सुदी १ को सरकारी प्रतिवेदनको व्यहोरा यस्तो छ:

लखन थापा बस्ने घर कुनै किल्ला जस्तै छ, जो सबैतिरबाट ८ हात चौडा र १६ हात अग्लो पर्खालले घेरिएको छ। १९३२ फागुन २६ मा ससाना बन्दूक र तरबार सहित ठूलो सङ्ख्यामा भोटेहरू लखनलाई साथ दिन आएका थिए। उनीहरू पश्चिमतिर जङ्गबहादुरसँग मिल्ने बहानाले निस्केका थिए, तर खास मनसाय चाहिं जङ्गबहादुरकै जीवनमाथि धावा बोल्नु थियो।

उक्त प्रतिवेदन अनुसार, पाल्पाका मेजर कप्तान शमशेरजङ्ग थापा क्षेत्री, सुब्बा वीरमानजङ्ग थापा क्षेत्री र सुबेदार बदलसिंह बस्नेतले लखन थापाको घर (किल्ला) र विद्रोहको सशस्त्र तयारीबारे प्रसादसिंह थापा, खड्ग थापा लगायत मार्फत थाहा पाए। सूचना पाउनासाथ ती सैनिकले छापा मारी अजपसिंह थापा मगर सहित केही मानिसलाई पक्राउ गरे। पक्राउ पर्नेहरूले निम्न बमोजिम बयान दिएको उल्लेख छः

लखन थापाले हामीमध्ये केहीलाई जर्नेल र केहीलाई कर्णेल एवं कप्तानमा भर्ना गर्ने वाचा गरेका छन्। उनले जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेलको दर्जा दिएका छन्। उनले प्रधानमन्त्री जङ्गको हत्या हुने, शाहज्यादा (उपेन्द्रविक्रम) राजा बन्ने र आफू चाहिं उपेन्द्रविक्रमका उत्तराधिकारी हुने घोषणा गरेका छन्। उनले तार्कु वा मनाङबेसी (लमजुङ)मा जङ्गबहादुरको मौका छोपेर हत्या गर्ने बताएका छन्। यदि यो सम्भव नभए तिब्बततर्फ लाग्ने र लक्ष्य अनुरूप तिब्बती समर्थन एवं सहयोग मिलेमा आफैं राजा हुनेछन्।

सरकारी प्रतिवेदन हेर्दा लखनले तिब्बती सहयोग जुटाएर भए पनि जङ्गबहादुरको अन्त्य गरी उनको स्थान हासिल गर्न चाहेको स्पष्टै छ। उनका सक्रिय समर्थकहरूमा जहरे (जयसिंह) चुमी, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङ र अजपसिंह थापा मगर देखिन्छन्। दस्तावेजमा छुटेका अर्का व्यक्ति थिए– अछामी मगर। यो तथ्य इतिहासकार नगेन्द्र शर्माले खुलाएका छन्। लखनका सबैभन्दा निकट र सक्रिय कार्यकर्ता भएकाले सम्भवतः यिनीहरू नै बुङ्कोटमा झुन्ड्याइएका थिए। जङ्गबहादुरको आदेशबाट १९३३ पुसमा मनकामना थान सम्मुखमा सबैभन्दा पहिले लखन, त्यसपछि ६ जना योद्धालाई मृत्युदण्ड दिइएको बुझ्न सकिन्छ।

भनिन्छ, सेनाको घेराबन्दी तोडेर विद्रोहीहरू भाग्न सक्थे, तर भागेनन्। क्षमा मागे ज्यान जोगिन सक्थ्यो, त्यसो पनि गरेनन्। उनीहरूले हाँसीहाँसी मृत्युलाई स्विकारे अनि जङ्गबहादुरको सर्वसत्तावाद विरुद्ध निरन्तर लड्न सबैलाई अभिप्रेरित गरे।

विद्रोहको मूल्याङ्कन

बुङ्कोट विद्रोहले जङ्गबहादुरको तानाशाही शासन विरुद्ध सर्वसाधारणलाई थप जागरुक बनायो। गोरखाको दूरदराजमा भएको यो विद्रोह राणाकालीन इतिहासकै सबैभन्दा बलियो र अद्‌भुत प्रकृतिको मानिन्छ। यसअघि १९०३, १९०६, १९०७, १९०९ र १९१४ सालमा पनि केही ‘बगावत’ नभएका होइनन्, तर ती पद, प्रतिष्ठा र निजी प्रतिशोधमा केन्द्रित षड्यन्त्र थिए।

विद्रोह र षड्यन्त्र फरक कुरा हुन्। बुङ्कोटको घटना विद्रोही चेतनाको मुहान थियो, जसले देशको स्वतन्त्रता, स्वाधीनता र जनअधिकारको मुद्दालाई उठायो। स्पष्ट राजनीतिक दृष्टिकोण, सशस्त्र तयारी, भारी जनसमर्थन र स्थानीय जनसहभागिता यसका सबल पक्ष थिए। यही प्रेरणादायी विद्रोहको जगमा नेपालको प्रजातान्त्रिक आन्दोलन अघि बढ्न सक्षम भएको हो। त्यसैले लखन थापा देशकै पहिलो र सच्चा क्रान्तिकारी थिए।

लखनका सन्तति

पृथ्वीनारायण शाहले पूर्वी लिम्बूवान जित्दा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत लखनका पुर्खाले रुम्जाटार (ओखलढुङ्गा)मा बिर्ता पाएका थिए। त्यही क्रममा उनका पूर्वजले एक लिम्बू कमारीलाई उद्धार गरी गाउँ (तेह्रथुम) फर्काइदिएका थिए। यो उपकारले दुई परिवारबीच गहिरो सम्बन्ध बन्यो। बुङ्कोटको हिंसा लगत्तै लखनको परिवार आश्रय खोज्दै तिनै लिम्बू महिलाकहाँ पुगेको थियो।

लखनका दोस्रो पुस्ता (नाम नखुलेको) र तेस्रो पुस्ता (करवीर थापा)ले तेह्रथुमको कोबेकमै घरजम गरे। चौथो पुस्ताका हेमदल थापा तत्कालीन भारतीय–अङ्ग्रेज सेनामा भर्ना भई पहिलो विश्वयुद्धमा बर्मा पुगेर उतै बसोबास गर्न थाले। उनी पछिका पाँचौं पुस्ता पदमबहादुर थापा दार्जीलिङको सिमकुना (तीन माइल)मा आएर बसे। लामो समय खुलेर बाहिर आउन नसकेकी पाँचौं पुस्ताकी छोरी ८२ वर्षीया शुभकुमारी थापा (हाल दिवंगत)सँग प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष रुलबहादुर आले एवं महासचिव जीवन आलेले  ३–६ पुस २०६७ मा साक्षात्कार गरेका थिए। आलेद्वयले दार्जीलिङको रेल्वे स्टेशन (धीरधाम मन्दिर नजिक), सिमकुना र खर्साङमा लखनका अन्य सन्तति सकुन थापा, विनोद थापालाई भेटेर जुटाएका जानकारीहरू प्रतिष्ठानको स्मारिका प्रथम शहीद (वर्ष १, अङ्क १, २०६७ फागुन)मा छापिएको छ। हाल लखनका सातौं/आठौं पुस्ता त्यहाँ बसोबास गर्छन्।

लखनका दोस्रो पुस्ता (नाम नखुलेको) र तेस्रो पुस्ता (करवीर थापा)ले तेह्रथुमको कोबेकमै घरजम गरे। चौथो पुस्ताका हेमदल थापा तत्कालीन भारतीय–अङ्ग्रेज सेनामा भर्ना भई पहिलो विश्वयुद्धमा बर्मा पुगेर उतै बसोबास गर्न थाले। उनी पछिका पाँचौं पुस्ता पदमबहादुर थापा दार्जीलिङको सिमकुना (तीन माइल)मा आएर बसे।

त्रिभुवन विश्वविद्यालयका भाषाविज्ञानका प्राध्यापकद्वय बल्लभमणि दाहाल र सुभद्रा दाहाल मार्फत लखनका सन्ततिको जानकारी बाहिर आएको हो। उनीहरूको सम्पर्कमा थिइन्, पवित्र थापा। त्यति वेला त्रिभुवन विश्वविद्यालयकै आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा)मा कार्यरत उनी शुभकुमारीकी छोरी हुन्। दाहाल दम्पती मार्फत थाहा पाएपछि गोरखाका बीके राना मगरले २०५६/५७ मा यो तथ्य प्रकाशमा ल्याए। उनले लखनका सन्ततिलाई काठमाडौं झिकाई एक कार्यक्रम मार्फत सार्वजनिक गराए।

यसै प्रसङ्गमा अध्येता जीवन आले मगरले रोचक तथ्य जोडेका छन्। उनले नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगरमा उल्लेख गरे अनुसार, लखनका चौथो पुस्ता हेमदल थापा सेनामा भर्ती भई बर्मा पुग्दा त्यहाँको टाउँजी शहरमा करसिंह थापासँग भेट भएको रहेछ। पुर्खा केलाउँदै जाँदा उनीहरूङ्को एकै वंशवृक्ष भएको खुलेछ। तीन पुस्ताअघि मात्र तिनका पूर्वज छुट्टिएका रहेछन्। लखनका राम भनिने जुम्ल्याहा दाजु पनि थिए। रामका पनाति रहेछन् करसिंह (२०६४, पृ.४१–४२)। हाल करसिंहको खलक दार्जीलिङको पङ्खाबारीमा बसोबास गर्छ।

ओखलढुङ्गाको रुम्जाटारसँग लखनको पुर्ख्यौली सम्बन्ध रहेको चर्चा माथि भइसकेको छ। सन्त ज्ञान दिलदासको जीवनी हेर्दा उनले रुम्जाटारमा जोसमनी सम्प्रदायको प्रचार केन्द्र खडा गरेको, धेरैलाई चेला एवं अनुयायी बनाएको पाइन्छ। लखनलाई पनि सम्भवतः रुम्जाटार जाँदा–आउँदा जोसमनी विचारधाराको गहिरो प्रभाव पर्‍यो। डायमनशमशेरको सेतो बाघ पढ्दा साहेबज्यादा उपेन्द्रविक्रम पनि सोही भेगमा जाने गरेको थाहा हुन्छ। जङ्गबहादुरलाई सत्ताच्युत गर्ने खेलमा उनी पनि सक्रिय थिए। यही भूगोलमा जोसमनी विचारधारासँगै लखन र उपेन्द्रविक्रम नजिकिएको अनुमान हुन्छ। १९३२ चैत्र सुदी १ को सैन्य प्रतिवेदन (रेग्मी, १९८०) ले पनि यी दुईको सम्बन्ध दर्शाउँछ।

अर्कातर्फ, युवराज त्रैलोक्यविक्रम राणाहरूबाट राजकीय अधिकार फिर्ता लिन भित्रभित्रै क्रियाशील थिए। उनले राणाशासन नहटेसम्म श्रीपेचै नलाउने प्रण गरेका थिए। उपेन्द्रविक्रम र त्रैलोक्यविक्रम जङ्गबहादुरका कट्टर विरोधी भएकाले उनीहरूसँग लखनको सम्पर्क रहेको स्वतः बुुझिन्छ। अतः लखनको विद्रोही अभियानमा राजपरिवारको भित्री समर्थनलाई नकार्न सकिंदैन। यही धारणा इतिहासकार ढुण्डीराज भण्डारी, त्रिरत्न मानन्धर, राजाराम सुवेदीहरूको पनि छ। यही सुइँको पाएर जङ्गबहादुरले रुम्जाटारबाट सन्त ज्ञान दिलदासलाई पक्राउ गरी आफ्ना विरोधीसँग तिनको कुनै सम्बन्ध छ कि भनेर व्यापक खोजीनिती गरेका थिए।

विद्रोहताका लखन थापा ४२ वर्षका थिए। राज्यले सर्वस्वहरण गरेकाले उनको परिवार बुङ्कोटबाट पलायन भएको थियो। अहिले पनि उनका सन्तति दार्जीलिङबाट वेलाबखत बुङ्कोट आउँछन्। जयसिंह चुमी र अछामी मगरका खलक निकैपछि मात्र बुङ्कोट फर्केका थिए। बाँकी चार शहीद परिवार अझै गुमनाम छन्। यो खोजीको विषय हो।

जयसिंहका सन्तति

बुङ्कोट विद्रोहका अर्का योद्धा जयसिंह चुमी (राना) मगर बुङ्कोट, काहुले भङ्गारकै थिए। १९१४ सालमा भारत, लखनउमा भएको सैन्य विद्रोहलाई साम्य पार्ने जिम्मेवारी पाएको पुरानो गोरख दलका सैनिकमध्ये उनी पनि एक हुन्।

बुङ्कोटमा जयसिंहले आफ्ना लडाकूलाई ‘जनरल’ को हैसियतले कुशलतापूर्वक परिचालन गरेको बताइन्छ। यही सैन्य सक्रियताका कारण लखनसँगै यिनले पनि राज्यद्रोहको आरोपमा ज्यान गुमाउनुपर्‍यो। परिवार पलायन भयो। त्यस क्रममा जयसिंहका ६ महीनाका एक मात्र छोरालाई नजिकैको मावली गाउँ घैरुङमा लुकाइएको प्रथम जनविद्रोहका योद्धा शहीद जयसिंह चुमी राना मगरमा रुद्रबहादुर राना मगरले (२०७६, पृ.१२) खुलाएका छन्।

अध्येता राना मगर जयसिंहका छैटौं पुस्ता हुन्। जयसिंहका जेठा नाति पहलसिंह, उनका जेठा छोरा तोलबहादुर, तोलबहादुरका कान्छा छोरा तेजबहादुरका महिला सन्तान। यिनको पुस्तकमा उल्लेख भए अनुसार शस्त्रास्त्र चलाउन सक्ने क्षमता अनि साहसी भएकै कारण जयसिंहले सेनामा कप्तानी दर्जा पाएका थिए। लखन र जयसिंह दुवैले काहुलेमा सामरिक हिसाबले सुरक्षित गढी बनाई त्यहींबाट विद्रोह शुरू गरेको थाहा हुन्छ। हाल बुङ्कोटको काहुले भङ्गारमा १८ घरधुरी चुमी परिवार छन्।

जयसिंहका छोरा अजबसिंह १६/१७ वर्षको उमेरमा पैतृक थलो फर्केका थिए (उही, पृ.३१)। तत्कालीन किल्लाको पूर्वतर्फ उनीहरूको बसोबास छ। राना मगरका अनुसार, जयसिंहका दोस्रो पुस्ता अजबसिंह, तेस्रो पुस्ता पहलसिंह, रनसिंह, लिलुसिंह र गञ्जसिंह गरी चार भाइ रहेकोमा गञ्जसिंही कान्छी पत्नीतर्फका जेठा छोरा रत्नबहादुर चुमी (उही, पृ.३४) हुन्। चौथो पुस्ताका रत्नबहादुर (८४वर्ष) अहिले पनि पुर्खाबारे धेरै कुरा बताउँछन्।

तत्कालीन घटनामा दोषी ठहर्‍याइएका सात जनालाई जङ्गबहादुरकै आदेशमा काहुले भङ्गार किल्ला परिसरमा झुन्ड्याई मृत्युदण्ड दिइएको थियो। अरूका शरीर रूखबाट कुहिएर झरे भने लखनको शरीर त्यहीं सुकेर हराएको स्थानीयको कथन छ।

तत्कालीन घटनामा दोषी ठहर्‍याइएका सात जनालाई जङ्गबहादुरकै आदेशमा काहुले भङ्गार किल्ला परिसरमा झुन्ड्याई मृत्युदण्ड दिइएको थियो। अरूका शरीर रूखबाट कुहिएर झरे भने लखनको शरीर त्यहीं सुकेर हराएको स्थानीयको कथन छ। बुङ्कोटकै ४७ वर्षीया पूर्णमाया (अछामी) मगरका अनुसार, लखन स्थानीय जलकन्या, काली नाग, ५२ वीर र ६४ योगिनीलाई नियमित पूजा गर्थे। तन्त्रसाधक समेत रहेका लखनमा दैवीशक्तिको प्रभाव रहेकैले उनको शरीर त्यसरी उडेर गएको किंवदन्ती स्थानीयमाझ प्रचलित छ। आफूले बाल्यकालमा भत्किएको किल्लाभित्र कुँदिएका आकृतिहरू देखेको स्मरण गर्दै पूर्णमाया लखनले अनेकाैं भाषा र विद्या जानेको दाबी गर्छिन् (२०७७ चैत्र १८ को भेटवार्तामा आधारित)। उक्त किल्ला भग्नावशेषमा परिणत भएकाले उत्खनन गरिए नयाँ तथ्य पत्ता लाग्न सक्छ।

गाउँमा प्रत्येक पुसको पहिलो पञ्चमीमा लखनको स्मृतिमा भँयरी पूजा गर्ने चलन छ। यो अकालमा मर्नेहरूको स्मृतिमा गरिने पूजा हो। पूजामा उनै रत्नबहादुरले मुख्य भूमिका खेल्दै आएका छन्। देशको स्वतन्त्रता र स्वाधीनताका लागि प्राण दिएका शहीदप्रति स्थानीयको श्रद्धा र भक्तिभाव आज पनि उत्तिकै छ।

अछामी मगरका सन्तति

इतिहासविद् नगेन्द्र शर्माको नेपाल, सम टेल्स : सम ट्रुथ्स (१९९१, पृ.३४)लाई पादटिप्पणीमा राख्दै डा.हर्षबहादुर बुढा मगरले कालु लम्साल र अछामी मगर पनि विद्रोहमा सहभागी भएको, यिनीहरूले सहयोद्धा बनेर लखनको अभियानलाई बलियो बनाएको चर्चा गरेका छन्। उनका अनुसार, कालुलाई ब्राह्मण भएकाले मृत्युदण्ड नदिइएको (किराँतवंश र मगरहरू, २०४९, पृ.२२९) देखिन्छ। १९१० सालको मुलुकी ऐनले ब्राह्मण हत्यालाई वर्जित गरेको थियो। कालुबारे अन्य जानकारी मिलेको छैन। कालु र जितमान गुरुङ जस्ता गैरमगर पनि विद्रोहमा सरिक भएकाले लखनको सेना समावेशी रहेको बुझिन्छ।

तत्कालीन घटनामा मारिएका अर्का योद्धा थिए, अछामी मगर। अछामी नाम नभई मगर जातिको वंश हो। ती विद्रोही यही उपनामले चर्चित थिए। बुङ्कोट घर भई हाल तनहुँ, आँबुखैरनी बस्ने ५८ वर्षीय तुलबहादुर थापा (अछामी) मगरका अनुसार, पश्चिम नेपालको विजय अभियानमा सक्रिय भूमिका खेले बापत यिनका पूर्वजलाई गोरखाको भूम्लीचोकस्थित याङ्तिङ (हाल गण्डकी गाउँपालिका)मा बिर्ता मिलेको थियो। पैतृक थलो अछाम छाडी त्यहीं बसोबास गर्न थालेकाले यिनीहरू ‘अछामी मगर’ कहलिए। हिजोआज अछामीहरूले ‘थापा मगर’ लेख्छन्। उनीहरूका हुलेभङ्गारमा आठ परिवार छन्। तीमध्ये तुलबहादुर थापा (अछामी) मगर आफ्ना जिजुबाजे पनि तत्कालीन विद्रोहमा मारिएको बताउँछन्। यिनी विद्रोही ‘अछामी मगर’ को चौथा पुस्ताका सन्तति हुन् (२०७७ चैत १७ को भेटवार्तामा आधारित)।

तुलबहादुरका अनुसार, एक पटक गोरखा दरबारमा पृथ्वीनारायण शाहको वायु (आत्मा) बोलाई केही कुरा बुझ्ने मनसायले गाउँका धामी-झाँक्री झिकाइएका थिए। तर, उनीहरूमध्ये कसैको शरीरमा पनि पृथ्वीनारायणको वायु उत्रेनछ। पछि अछामी खलकका एक सदस्यलाई अघि सार्दा वायु सजिलै उत्रियो। दरबारले खुशी भएर वायु बोलाउने ‘डाङ्ग्रे’ लाई असी रुपैयाँ सुनको असर्फी र पाँच जोर चाँदीको बाला बक्सिस दिएको रहेछ। त्यसमा सगोलका दाजुभाइ सबैको हक लाग्नेमा ‘डाङ्ग्रे’ ले एकलौटी गरेकाले परिवारमा खटपट भई यिनका जिजुबाजे घरबाट छुट्टिई बुङ्कोट आए। त्यस वेला याङ्तिङमा ७६ घरधुरी अछामी थिए।

बुङ्कोट घटनापछि तीन भाइ छोरा पनि मारिएलान् भनेर बज्यैले गाउँबाट भगाएकी थिइन्। उनीहरू ज्यान जोगाउन भारत पसे र सेनामा जागीरे भए। माहिला (नाम नखुलेको) उतै हराए भने जेठा (जितबहादुर) र कान्छा (भानु) लामो समयपछि आफ्नो गाउँ फर्किए।

यसरी बुङ्कोट आएका जिजुबाजेले लखनको विद्रोही अभियानमा सक्रियतापूर्वक भाग लिए। यिनको वास्तविक नाम रहेछ– ‘बालेश्वर’! यिनका जेठा जितबहादुर, माहिला (नाम नखुलेको) र कान्छा भानु समेत तीन भाइ छोरा थिए। यो तथ्य भानुका माहिला छोरा दिलबहादुर अछामी मगर (७० वर्ष)बाट खुलेको तुलबहादुर बताउँछन्। भानुका छोराहरू जेठा नैनबहादुर, माहिला दिलबहादुर र कान्छा दुर्गाबहादुरले बाजेलाई देख्न पाएनन्, तर बज्यै (मीनु)बाट ‘बालेश्वर’ नेपाली सैनिक भएको बाल्यकालमा सुनेका थिए।

बुङ्कोट घटनापछि तीन भाइ छोरा पनि मारिएलान् भनेर बज्यैले गाउँबाट भगाएकी थिइन्। उनीहरू ज्यान जोगाउन भारत पसे र सेनामा जागीरे भए। माहिला (नाम नखुलेको) उतै हराए भने जेठा (जितबहादुर) र कान्छा (भानु) लामो समयपछि आफ्नो गाउँ फर्किए। यी दुई भाइले पुर्खाले बलिदान गरेकै भूमिमा बसोबास गर्ने मनसायले काहुले भङ्गारमा धनसार ठड्याए। तिनीहरूले नब्बे सालको भुइँचालोपछि छुट्टिएर जीवन बिताएको तुलबहादुरको कथन छ।

सम्भवतः पहिलो विश्वयुद्धताका निवृत्त सैनिकहरूको खोजीमा गल्लावाल आउँदा यिनकी जिजु बज्यैले जेठा बाजे (जितबहादुर)लाई धनसारमा र कान्छा बाजे (भानु)लाई भालु खोलातिर लुकाई ‘मेरा छोराहरू गाउँ फर्केकै छैनन्’ भनेर रित्तै फर्काएको र बुढेसकालमा सहारा दिने ती छोरालाई युद्धमा होमिनबाट जोगाएको कुरा पनि यिनले प्रसङ्गवश सुनाए।

बालेश्वरका जेठा छोरा जितबहादुरकी जेठी पत्नीबाट इन्द्रबहादुर र कृष्णबहादुर जन्मे भने कान्छीबाट गगन मात्र जन्मिए। यिनै गगनबाट जायजन्म भएका ६ भाइ छोरामध्ये माहिला हुन् तुलबहादुर (स्रोत व्यक्ति)। यो वंशवृक्षबारे यिनले निकै मिहिनेतले सूचना सङ्कलन गरेका छन्। तुलबहादुरका दाजु गुञ्ज, भाइहरूमा साहिंला हेमबहादुर, काहिंला तेजबहादुरको निधन भइसकेको छ भने ठाहिंला दीपसागर र कान्छा चेतबहादुर बुङ्कोटमै बस्छन्।

बुङ्कोट विद्रोहको इतिहास जस्तो लेखिनुपर्थ्यो, त्यस्तो लेखिएको छैन। घटनास्थलको भग्नावशेषमा छोपिएका तथ्यहरूको उत्खनन, अध्ययन र संरक्षणमा अझै राज्यको ध्यान गएको छैन। यो अद्‌भुत विद्रोहको इतिहास उपेक्षित रहनु न्यायप्रेमी र देशभक्तहरूका निम्ति अत्यन्त लज्जाको विषय हो।

अहिलेकोे लोकतन्त्र राज्यको निरंकुशता विरुद्ध लखन थापाहरूले रोपेको विद्रोहको त्यही बीजको विकसित फल हो, जसका लागि सात जनाले ज्यान गुमाए। त्यो शहादतको मूल्याङ्कन राज्यले ढिलै भए पनि गर्‍यो। ३ असोज  २०७२ मा लखनलाई ‘प्रथम शहीद’ को दर्जा दिइयो, तर उनीसँगै मारिएका अन्य ६ जनालाई शहीद मान्न कन्जुस्याइँ गरियो। राज्यको यो उदासीनता क्षम्य छैन, ती सबैले शहीदको मान–सम्मान पाउनुपर्छ। बाँकी शहीद परिवारको खोजी गर्नु र तिनलाई प्रकाशमा ल्याउनु हामी सबैको जिम्मेवारी हो।

Comments

comments