छोरो आनन्दप्रति
–ईश्वर थोकर
मेरो छोरो,
मेरो आनन्द !
तिम्रो आम्रेन र म घरबाट
निस्कँनै लाग्दा
तिमीलेबाटो छेकेर भनेका थियौ–
‘आप्रेन ! आम्रेन !
तपाईँहरु कहाँ जान लाग्नुभएको ?
मलाई छाडेर कहीँ नजानू ।’

मेरो छोरो,
मेरो आनन्द !
तिमीले ‘मलाई छाडेर कहीँ नजानू’
भन्दै गर्दा
तिम्रो निर्दोष आँखामा
टिलपिल आँसु थियो
तिम्रो अबोध अनुहार
पीडाले आक्रान्त थियो

मेरो छोरो,
मेरो आनन्द !
तिमीले तिम्रो एकमात्र भाइ
विवेकको कति ख्याल गर्थ्यौ ?
त्यो त
मलाई मात्रै थाहा छ
तिमीलाई माया गर्ने
आपा/आमाको कति ख्याल गर्थ्यौ ?
त्यो त
मलाई मात्रै थाहा छ
तिमीले तिम्रो आखेमाम,
आप्रेन/आम्रेन,
आकु/आङि
र साथीभाइको कति ख्याल गर्थ्यौ ?
त्यो त मलाई मात्रै थाहा छ

मेरो छोरो,
मेरो आनन्द !
तिमीले तिम्रो सामुन्ने
तिम्रो आप्रेन/आम्रेनलाई नदेखेर
बेलाबखतमा तिम्रै
आखेमामलाई सोधिराख्छौ होला–
‘आखे !
मेरो आप्रेन कहाँ जानुभयो ?
माम !
मेरो आम्रेन कहाँ जानुभयो ?’

Comments

comments